पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) घनश्याम अर्यालले मातहतका कर्मचारीसँग १ वर्षे कार्ययोजना सम्झौता गरेका छन् ।
प्रहरीबाट सम्पादन हुने गतिविधिलाई व्यवस्थित, परिस्कृत तथा विश्वासयोग्य बनाउन मातहतका कार्यालय प्रमुखसँग डिआइजी अर्यालले सोमबार सम्झौता गरेका हुन् ।
प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, दंगा नियन्त्रण प्रहरी गण तनहुँका प्रमुख प्रहरी उपरीक्षक डा. मेख बहादुर खत्री, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरे र जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण, प्रदेश अन्तर्गतका जिल्ला प्रहरी कार्यालय (नवलपरासी पूर्व, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ र मनाङ), नेपाल पुलिस स्कुल बेलचौंतारा तनहुँ, विपद व्यवस्थापन गुल्म बागलुङसँग भिडिओ कन्फरेन्स मार्फत कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा डिआइजी अर्यालले उक्त कार्ययोजनाले नेपाल प्रहरीले विगतदेखी नै सम्पादन गर्दै आईरहेका विविध गतिविधिहरुलाइ परिणाममुखी बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
आम नागरिकका भावनालाई आत्मसाथ गर्न प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी आगामी दिनमा संगठनको सुदृढिकरण र सबलीकरणमा मार्गदर्शन हुने उनको भनाई छ । कार्यसम्पादनको सम्झौताअनुसार दृढताका साथ लाग्न डिआइजी अर्यालले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए ।
‘आम नागरिकको विश्वास र भरोसाको केन्द्रविन्दु भएकाले आउने सेवाग्राहीलाई आचरणयुक्त, पूर्ण व्यवसायीक शिष्टताका साथ व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘प्रहरीबाट हुने कुनै पनि गैर व्यावसायिक, अमर्यादित र अपारदर्शिताका विषयहरु क्षम्य हुँदैन ।’ महामारीको समयमा अग्रपंक्तिमा रहेर नागरिकलाई सुरक्षा दिने जिम्मेवारी आइपरेको हुँदा सुरक्षित रहन उनले बताए ।
यस अघि संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीबाट साउन २५ गते नेपाल प्रहरीको कार्ययोजना २०७७ जारी भइसकेको छ ।