पोखरा । लमजुङस्थित कार्यरत नेपाली सेनामा कोरोना देखिएको छ । त्यहाँका २० जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश निर्देशनालयले जनाएको हो । २७ देखि ४० वर्ष उमेर समूहका उनीहरु सबै पुरुष हुन् ।
लमजुङ बेसीसहरको ग्लोबल आइएमई बैंकका कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ । उनी बेसीसहर नगरपालिका ८ का हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयको बुधबार बिहानको अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ९ सय ४५ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको मादी गाउँपालिका र पोखरा महानगरपालिकामा पनि कोरोना संक्रमितको संख्या थप भएको छ ।
मादी गाउँपालिका ७ का ३९ वर्षीय पुरुष दुबईबाट आएका थिए । पोखरा ११ का ४६ वर्षीय पुरुष भने साई अर्चना अस्पतालका कर्मचारी हुन् । पोखरा महानगरमा संक्रमित हुनेको संख्या २ सय ७६ पुगेको छ भने निको हुने १ सय ६९ छन् ।
नवलपरासी गैंडाकोट १ की ४० वर्षीया महिलामा कोरोना देखिएको निर्देशनालयले जानकारी दिएको छ । उनीसहित मंगलबार बिहान मात्र गण्डकीमा ३२ जनामा कोरोना पुष्टि भइसकेको छ ।
गण्डकीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ६ सय ४३ पुगेको छ । थप भएका संक्रमित अधिकांश कन्ट्रयाक्ट ट्रेसिङमार्फत पहिचान भएका हुन् ।