काठमाडौँ । नेपाल कोरोना खोप अभियानको १० औँ दिनसम्म आइपुग्दा १ लाख ५८ हजार ४८७ जनाले खोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दश दिनको अवधीमा पहिलो चरणको खोप लगाइसक्ने दाबी गरेको भएपनि ३७ प्रतिशत मात्र स्वास्थ्यकर्मीले मात्र खोप अभियानमा सहभागी भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणका अनुसार देशभरका २०१ खोप केन्द्रहरुबाट १ लाख ५८ हजार ४८७ जनाले खोप लगाएका छन् ।
जसअन्तर्गत प्रदेश १ मा २१ हजार ७५७, प्रदेश २ मा २१ हजार १८१, वाग्मती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिममा १० हजार ९०७ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।
सरकारले पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने व्यक्ति तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारमा संलग्न फ्रन्टलाइनर वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश सीमा नाकामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवम् कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको थियो ।