काठमाडौँ । बैतडीको गोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या भएको १३ दिनपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको छ ।
बलात्कार र हत्यामा संलग्न भएको प्रमाण जुटेपछि प्रहरीले सोही स्थानका १६ बर्षीय किशोर दिनेश भट्टलाई पक्राउ गरेको छ । पक्राउ पछि दिनेशले आफुमाथिको आरोप स्वीकार गरिसकेका छन् । बलात्कार र हत्याका आरोपित दिनेश सनातन धर्म माविमै कक्षा ११ मा पढ्दै आएको प्रहरीले जानकारी दिएको छ ।
आरोपित दिनेशलाई प्रहरीले केही बेरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै छ । उनलाई मंगलबार साँझ घरैबाट पक्राउ गरिएको हो ।
गत माघ २१ गते विद्यालय गएकी भागरथि अबेरसम्म घर नआएपछि उनको खोजी भएको थियो । खोज्ने क्रममा भोलिपल्ट गाउँबाट केही परको लबलेक जंगलमा उनको विभत्स शव फेला परेको थियो ।
प्रहरीले उनको बलात्कार पछि हत्या भएको अनुसन्धानमार्फत निश्कर्ष निकालेको थियो । पोस्टमार्टम रिपोर्टअनुसार उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको थियो ।
भागरथीको बलात्कारपछि हत्यामा प्रहरीले निर्मला प्रकरणमा जस्तै कमजोरी नहोस् भनि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी नै फिल्डमा खटिएका थिए । त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पनि अनुसन्धानमा सघाएको थियो ।
प्रहरीले सुरुवातदेखि नै दिनेशलाई उच्च निगरानीमा राखेको थियो । यसअघि पनि प्रहरीले दिनेशसँग सामान्य सोधपुछ गरेको थियो । भागरथीको लागि न्याय माग गर्दै भएका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा पनि दिनेश सहभागी हुने गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेलगत्तै आफुले नै भागरथीको बलात्कार गरेको र घटना बाहिर आउने डरले हत्या गरेको बताएका छन् । उनले ब्यक्तिगत रिसिइबीका कारण भागरथीको हत्या गरेको स्वीकारेका छन् ।