काठमाडौँ । सरकारले प्रतिवन्ध लगाएपछि भूमिगत हुँदै राजनीतिक क्रियाकलाप संचालन गर्दै आएका विप्लव दुई बर्षपछि सार्वजनिक रुपमा देखा पर्दै छन् । सरकार र विप्लव नेकपाको उच्चस्तरीय वार्ता टोलीबीच सहमती जुटेपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका हुन् ।
बुधबार र बिहीबार सरकार र विप्लव नेकपाबीच भएको सहमतीका बुँदाहरु सार्वजनिक गरिने समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले सम्बोधन गर्ने बताइएको छ ।
सरकारबाट गृहमन्त्री राममबहादुर थापा बादलको नेतृत्वमा परराष्ट्र सल्लाहकार राजन भट्टराई र विप्लव पक्षबाट प्रवक्ता ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य दीपक चलाउनेबीच दुई दिनदेखि भएको छलफलमा विप्लव र सरकारबीच तीन बुँदे सहमती भएलगत्तै दुई बर्षदेखि लगातार रुपमा भूमिगत राजनीति गर्दै आएका नेत्रविक्रम चन्द खुला राजनीतिमा आउने भएका हुन् ।
वार्तापछि जारी गरिएको प्रेस नोटमा विप्लवमाथि लगाइएको प्रतिवन्ध फुकुवा गर्ने , हिरासत तथा कारागारमा रहेका कार्यकर्ताहरुलाई रिहा गर्ने, कार्यकर्ताहरुमाथि लगाइएको मुद्दा खारेज गर्ने लगायतका बिषयमा सहमती भएको बताइएको छ । त्यस्तै विप्लवले शान्तिपूर्ण राजनीतिक गतिविधि संचालन गर्ने बिषयमा पनि सहमती जुटेको छ ।
हिंसात्मक राजनीतिक क्रियाकलाप गरेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई बर्ष अघि २०७५ साल फागुन २८ गते विप्लव नेकपामाथि प्रतिवन्ध घोषणा गरेको थियो । प्रतिनिधि सभा विघटनपछि राजनीतिक रुपमा एक्लिएपछि प्रधानमन्त्री ओलीले नै विप्लवमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्दै राष्ट्रिय राजनीतिमा सामेल गराउन लागेका हुन् ।