काठमाडौँ । नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँ आइपुगेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट आज बिहान हिँडेका विप्लव केहीबेरअघि मात्र काठमाडौँ आइपुगेका हुन् ।
नवलपुरबाट प्रहरीको विशेष सुरक्षाका साथ काठमाडौँ आएका विप्लवले पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने भएका छन् । राष्ट्रियसभाबाट सार्वजनिक हुनुअघि विप्लव बालुवाटार पुग्नेछन् ।
बालुवाटारबाट प्रधानमन्त्री ओली र नेकपाका महासचिव विप्लव राष्ट्रिय सभागृहको समारोहमा जानेछन् ।
राष्ट्रिय सभागृहमा आज दिउँसो २ बजे प्रधानमन्त्री र महासचिव विप्लवले सरकार र नेकपाबीच भएको सहमती सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
सरकार र विप्लवबीच विहीबार तीन बुँदे सहमती भएको थियो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्तामा सहभागी थिए भने विप्लव नेकपाका तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सहभागी थिए ।
वार्तापछि बिहीबार साँझ नै मन्त्रिपरिषद्को बैठकले विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिवन्ध फुकुवा भएपछि २ बर्षदेखि भूमिगत राजनीति संचालन गर्दै आएका विप्लव अव खुल्ला राजनीतिमा आउने भएका छन् ।