काठमाडाैं । बितेको २४ घण्टामा मुलुकभर कोरोना भाइरसका ८९९ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३९,४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यति नै समयमा देशका विभिन्न ठाउँमा ७ जनाले ज्यान गुमाएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या नेपालमा २२८ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा १९० संक्रमित फेला परेका छन् । ललितपुर ६७ र भक्तपुरमा ४१ जनामा पनि संक्रमण भेटिएको छ ।
डा गौतमकाअनुसार देशभर १७,८२२ जनामा सक्रिय संक्रमण छ । जसमध्ये १०,७०१ जना संस्थागत आइसोलेशनमा र बाँकी ७,१२१ जना घरमा छन् । सक्रिय संक्रमित बागमती र प्रदेश नम्बर २ मा रहेको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घन्टामा ५८८ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर संक्रमितमध्ये आधाभन्दा बढी ५४ प्रतिशत निको भइसकेको प्रवक्ता डा गौतमले जानकारी दिए ।