काठमाडौं । सरकारले उद्धार (चार्टर्ड) र नियमित उडानकाे यसअघिको मापदण्डलाई परिमार्जन गरेको छ । उडानसम्बन्धी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको निर्देशनलाई परिमार्जन गरी दैनिक ८ सयसम्म यात्रु ल्याउन पाइने भएकाे हाे ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले भदौ ४ गते गरेको निर्णयलाई परिमार्जन गरी ८ सय बनाइएको बताए । यसअघिको निर्णय दैनिक ५ सय यात्रु ल्याउन पाइने थियो ।
भदौ १६ गते मंगलबारदेखि उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ महिना पछि नियमित उडानको तयारी थालेको छ । शर्तसहित उडान गराउन सरकारले यसअघि मन्त्रालयले मापदण्ड जारी गरिरहेको छ । बसिरहेको मुलुकबाट नेपाल आउन ७२ घन्टाभित्र जाँच भएको पीसीआर रिपोर्ट नेभेटिभ चाहिने नियम छ ।
नियमित उडान नभएका मुलुकबाट आउन चाहनेलाई चार्टर्ड उडानबाट ल्याउन सकिने व्यवस्था सरकारले गरेको छ । त्यसता मुलुकबाट नेपाल फर्किन चाहेकाले चार्टर्ड विमानकाे भर पर्नुपर्ने हुन्छ ।
तर दैनिकरुपमा धेरै यात्रु आउन सक्ने हुँदा कोटा निर्धारण गरेर व्यवस्थापनलाई चुस्त पार्न ८ सयको सीमा निर्धारण गरिएको जानकारहरुको भनाई छ ।
काठमाडौं उपत्यकामा मात्रै दिनप्रतिदिन संक्रमण फैलिइरहेकोले आइसोलेसन कक्षको अभाव हुनसक्ने सम्भावनालाई ख्याल गर्दै स्वास्थ्य मन्त्रालयलाई व्यवस्था गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको छ । सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान अन्तर्गतका अस्पतालहरुलाई आइसोलेसनको रुपमा प्रयोग गर्न सकिने डा खतिवडाले जानकारी दिए ।
एनआरएनलाई केही सहज
गैरआवासीय नेपाली (एनआरएन) को हकमा सम्बन्धित कुटनीतिक नियोगको सिफारिसमा नेपाल फर्किन पाउने व्यवस्था हुने भएको छ । एकाघरका व्यक्तिको मृत्यु भएमा, गम्भीर बिरामी भएका व्यक्तिहरुले अवस्था प्रमाणित गरेर आउन पाउने डा खतिवडाले सुनाए ।
पीसीआर परीक्षण सहज नभएका साउदी अरब लगायत मुलुकहरु र नियमित उडानबाट यात्रु ल्याउन नपाउने हकमा पनि कुटनीतिक नियोगको सिफारिसमा नेपाल फर्किन पाइने छ ।
श्रम सम्झौता कायम रहेका श्रमिकको हकमा रोजगारदाता कम्पनीको खर्चमा र सम्झौता सकिएकाको हकमा आफ्नै खर्चमा फर्किन सकिने प्रवक्ता डा खतिवडाले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले नेपालमा अध्ययन गरिरहेका विदेशी विद्यार्थी अध्ययन वा परीक्षाका लागि आउन दिने निर्णय गरेको छ ।
स्वास्थ्य मापदण्ड पालना गरी ७२ घन्टाभित्र पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ । विशेषगरी नेपालमा मेडिकल विषयमा अध्ययन गर्न विदेशी विद्यार्थी आउने गरेका छन् ।