काठमाडौँ । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिने भएको छ । माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।
एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रका दुइ जना मन्त्री रहेका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा रहेका छन् । बैठकले नयाँ सरकार समिकरणको प्रयासका लागि मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
प्रदेश सभामा हाल एमालेका २७, माओवादीका सभामुखसहित १३ सांसद, नेपाली काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।
मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ ।