अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालैका हिंसक झडपमा आफ्ना समर्थकहरूको भूमिकाको बचाउ गरेका छन्।
उनले विन्सकन्सिन राज्यमा २ जनाको हत्याको आरोप लागेका किशोर र ओरेगनमा भएको झडपमा सङ्लग्न समर्थकहरूले आत्मरक्षामा गरेको बताएका छन्।
ह्वाइट हाउसमा सोमवार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्र्याटहरू मेयर र गभर्नर भएका ठाउँमा भएका हिंसाको दोष राष्ट्रपति पदका प्रतिस्पर्धी जो बाइडन र उनका सहकर्मीलाई लगाए।
सोमबार प्रहरीले ओरेगनको पोर्टल्याण्डमा सप्ताहन्तमा भएका झडपमा गोली लागेर मारिएका व्यक्ति आरोन डानिल्सन रहेको जनाएको थियो।
एक पत्रकारले पोर्टल्याण्ड घटनामा ट्रम्प समर्थकले रङ्ग भरिएका छर्रा प्रहार गरेको विषयमा ट्रम्पलाई सोधेका थिए।
ट्रम्पको जवाफ थियो, ‘हो, त्यहाँ धेरै समर्थकहरू थिए। तर त्यो शान्तिपूर्ण प्रदर्शन थियो। रङ्ग प्रतिरक्षाको अस्त्र हो। रङ्ग गोली होइन।’
आउँदो अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले राष्ट्रपति ट्रम्पलाई हिंसा गलत हो भन्न चुनौती दिएका छन्।
बाइडनले ट्रम्पलाई ‘देशमा हिंसा भड्काउने कमजोर र विशाक्त नेता’ भनेका छन्।
दुई पक्षबीच चर्को प्रतिस्पर्धा हुने ठानिएको पेन्सलभेनिया राज्यमा बोल्दै बाइडनले अमेरिकाले थुप्रै सङ्कटहरू सामना गरिरहेको र त्यो ‘डोनल्ड ट्रम्पको नेतृत्वमा झन् बढ्ने’ बताएका छन्।
अमेरिकी सहरमा चलिरहेका प्रदर्शनले अस्थिरता सिर्जना गरिरहेका बेला आउँदो चुनावमा राष्ट्रपतिका दुई प्रतिस्पर्धीबीच चर्काचर्की परिरहेको छ।
बीबीसी सम्वाददाता पिटर बोउज भन्छन्, ‘पत्रकार सम्मेलनमा ट्रम्पले डेमोक्र्याट मात्र भनेनन्, उनले जो बाइडनको पार्टी भनिरहे। उनले खासमा देशभर भइरहेका अशान्तिका घटनालाई बाइडनसँग जोड्न चाहन्छन्।’
नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि गरिएका मत सर्वेक्षणमा बाइडन अगाडि छन्।