काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको सशंकित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले छिमेकी मुलुकहरुमा अत्याधिक मात्रामा कोरोना बढेको कारण नेपालमा सावधानी अपनाउन पनि अत्यन्त जरुरी रहेको बताएका छन् ।
मास्क लगाउने, सरसफाइमा विशेष ध्यान दिने, भौतिक दुरी कायम राख्ने लगायका स्वास्थ्य मापदण्डहरु अनिवार्य अपनाउन प्रधानमन्त्रीले आग्रह गरेका छन् । भारतसँगको खुला सिमानाको कारण कोरोनाको जोखिम हुने हुँदा विशेष ध्यान पुर्याउन उनले आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघिको बर्षमा जस्तै लकडाउन भने नगर्ने संकेत गरेका छन् । सिमानाका बन्द गर्नेतर्फ पनि कुनै छलफल नभएको र तत्काल आवश्यक नरहेको पनि बताएका छन् ।
अत्यावश्यक सामाग्रीहरु भारतबाट नै ल्याउनु पर्ने भएको कारण तत्काल ठप्प पार्ने अवस्था नरहेको उनले बताए । ‘तत्काल ठप्पै पारिहाल्नुपर्ने अवस्था छैन, तर हामी सावधानी हुन छोड्यौँ र अन्य देशमा जस्तै अवस्था भयो भने वाध्य भएर ठप्प पार्नुपर्ने हुनसक्छ’, उनले भने ।