काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार बस्ने गरि तीन दलको बैठक बोलाएका थिए ।
सत्ता समिकरणबारे माओवादी केन्द्र र जनता समाजवादी दललाई छलफलमा बोलाएका थिए । तर, तीन दलको बैठकअघि शुक्रबार नै देउवाले प्रचण्डविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रीय कार्यसमितिको राष्ट्रिय भेलामा सम्बोधन गर्दै सभापती देउवाले मुलुक यस्तो अवस्थामा आउनुको मुख्य जिम्मेवार प्रचण्ड रहेको बताए ।
उनले प्रचण्डमा ढुलुमुले प्रवृत्ती रहेको पनि बताए । ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीलेरु तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक भएको छ।’
देउवाले वर्तमान स्थिति हेर्दा पुनः चुनावमा जानुपर्ने अवस्था समेत आउनसक्ने बताएका छन् । “सरकार गठन भए ठीकै भयो, भएन भने निर्वाचनमा जानुपर्ने हुन सक्छ, निर्वाचन बाध्यता हुन सक्छ । पार्टीको सरकार भएन भने पनि देशको निर्वाचन तथा पार्टीको अधिवेशनमा लाग्नुपर्नेछ । वर्तमान सरकारको विकल्प पनि खोज्नुपर्ने छ, यी दुवै काम प्राथमिकतामा छन्”, उनले भने ।
वर्तमान सरकारको विकल्प खोज्ने गरी सत्ता समीकरणको चर्चा चलिरहेका बेला कांग्रेस सभापति देउवाको यस्तो भनाइ आएको हो ।
सत्ता साझेदारीका विषयमा सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र) तथा प्रतिपक्षमा रहेको जनता सामाजवादी पार्टीबीच छलफल चलिरहेको छ । यी तीन दलको बैठक आजै अपराह्न बस्दैछ ।