काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको भातृसंगठन ‘वैज्ञानिक समाजवादी युवा लिग नेपाल’ले चितवनको भरतपुरमा मोटरसाइकल र्याली निकालेको छ । मेची–महाकाली युवा जागरण अभियान अन्तर्गत आइतबार मोटरसाइकल र्याली निकालिएको लिगका केन्द्रीय महासचिव श्याम कुँवरले जानकारी दिएका छन् ।
‘दलाल पुँजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौँ, वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौँ’ भन्ने मूल नारासहित चैत २१ गते दोधारा चाँदनीमा सुरु भएको अभियान अत्तरिया, धनगढी, टिकापुर, भुरी गाउँ, कोहलपुर, नेपालगन्ज, भालुबाङ, बुटवल हुँदै आज चितवनकाे भरतपुर आइपुगेको हो ।
भरतपुरमा चौबिसकोठीबाट सुरु भएको मोटरसाइकल र्याली हाकिम चोक, पारस बसपार्क, मालपोत चोक हुँदै पुलचोकमा पुगि कोणसभामा परिणत भएको थियो । पुलचोकको कोणसभालाई लिगका केन्द्रीय अध्यक्ष लच्छुराम विश्वकर्मा र महासचिव श्याम कुँवरले सम्बोधन गरेका थिए ।
अध्यक्ष विश्वकर्माले दलाल पुँजीवादी संसदीय व्यवस्थाकै कारण देशमा भ्रष्टाचार र लुटतन्त्र बढेको बताए । भ्रष्टाचार र लुटतन्त्रलाई बढावा दिने पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सबै एकठाउँमा जुट्न उनले आह्वान गरे ।
महासचिव कुँवरले दलाल संसदीय पुजीवादको विरुद्ध वैज्ञानिक समाजवाद निर्विकल्प भएको र यससम्बन्धि जागरण फैलाउन यो अभियान आयोजना गरिएको बताए ।