काठमाडौँ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्याे । नेपालमा कोरोना संक्रमण बढ्दै गएको कारण सचेत रहन आग्रह गर्दै जारी गरिएको सूचनामा संक्रमणबाट जोखिन र स्वास्थ्य मापदण्डहरुलाई कडाइका साथ पालना गर्न अपिल गरिएको छ ।
सरकारको सचिवस्तरबाट जारी गरिएको सूचना अनुसार काठमाडौँ लगायत १४ जिल्लालाई कोरोना भाइरसको अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण गरिएको छ ।
वर्तमान समयमा देखिएको कोरोना भाइरसबाट बालबालिका र युवावर्ग उच्च जोखिममा रहेको मन्त्रालयले जारी गरिएको सूचनामा उल्लेख छ । सोही कारण बालबालिकाहरुलाई विद्यालय नपठाउन मन्त्रालयको आग्रह छ । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने बुझेर रात्रिकालीन व्यवसाय, क्लब, जिम, मन्दिर, सिनेमा हल, सभा, बैठक आदिमा सहभागी नहुन भनिएको छ ।
शैक्षिक संस्था बन्द गर्ने कि विद्यार्थीलाई विद्यालय नपठाउने ?
सोमबार शिक्षा मन्त्रालयले कोरोना संक्रमण बढ्दै गर्दा विद्यालय खोल्ने कि नखोल्ने भन्ने बिषयमा सरोकारवालाहरुसँग छलफल गरेको थियो । छलफलमा प्याब्सन, एनप्याब्सन पदाधिकारी तथा नीजि विद्यालय संचालक, शिक्षक, अविभावकसहित मन्त्रालयका कर्मचारी सहभागी थिए ।
छलफलको क्रममा सरोकारवाला निकायहरुले तत्काल विद्यालय बन्द गर्न नहुने सुझाव दिएका थिए । स्वास्थ्य मापदण्ड कडाइका साथ लागु गरी विद्यालयबाटै पठनपाठन गर्नुपर्ने उनीहरुको धारणा थियो । सो छलफलअघि स्वास्थ्य मन्त्रालयले कम्तिमा तीन साता विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
विद्यार्थीहरुले घरमै बसेको अवस्थामा बिस प्रतिशत आवातजावत कम हुने र कोरोना संक्रमणको जोखिम पनि सोही आधारमा केही कम रहने भन्दै विद्यालय बन्द गरी अनलाइन कक्षा संचालन गर्न सिफारिस गरेको थियो । विद्यालय संचालकसँगको छलफल पछि स्वास्थ्य मन्त्रालयको सिफारिसबारे कुनै निर्णय भएन ।
तर, बिहीवार स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेपछि अविभावकहरुमा अन्योल पैदा भएको देखिन्छ । एकातिर स्वास्थ्य मन्त्रालयले बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरको र अर्कातिर शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने गरी कुनैपनि निर्देशन जारी नगरेको अवस्थामा छोराछोरीलाई विद्यालय पठाउने कि नपठाउने भन्नेमा अन्योल देखिन्छ ।
‘बालबालिका कोरोनाको उच्च जोखिममा छ भनेर सरकारले नै भनेको छ तर सरकारबाट ठोस निर्णय हुन नसक्दा डरैडरमा छोराछोरीलाई विद्यालय पठाउनु परेको छ’, नेपालटार बस्दै आएकी सपना सुनारले भनिन्, ‘विद्यालयले अनलाइनबाट अध्ययन गरायो भने छोराछोरी सुरक्षित हुने थिए ।’ कोरोना संक्रमण बढेको भएपनि विद्यालय संचालन भइरहेको कारण आफूहरु बाध्य भएर छोराछोरीलाई विद्यालय पठाउन परेको उनको गुनासो छ ।
विद्यालय संचालकहरु तत्काल विद्यालय बन्द गर्ने पक्षमा छैनन् । राजधानीकै एक विद्यालयका शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण पुष्टि भएपनि विद्यालय भने निरन्तर नै छ । स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने भनेपनि त्यसबारेमा सम्बन्धित निकायले कडाइका साथ अनुगमन गरेको देखिँदैन ।
राजधानीमै दैनिक संक्रमण संख्या बढ्दै गएको अवस्थामा अधिकांश विद्यार्थीहरु सार्वजनिक यातायात प्रयोग गरि विद्यालय पुग्छन् । यसबाट बालबालिकाहरुमा कोरोनाको जोखिम स्वतः उच्च हुने नै भयो ।
अविभावक संघका अध्यक्ष भन्छन्, ‘सरकारले ठोस निर्देशन जारी गर्नुपर्छ’
राष्ट्रिय अविभावक संघका अध्यक्ष केशव पुरीले विद्यार्थीको भविष्यप्रति र स्वास्थ्यप्रति सरकार उदासिन देखिएको बताएका छन् । यसबाट थप विकराल अवस्था आउन सक्ने उनले बताएका छन् ।
शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयका बीच समन्वय हुन नसकेको कारण पनि सरकारको स्पष्ट निर्णय आउन नसकेको उनले बताएका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण दर अत्याधिक बढेको र पटकपटक विद्यालय बन्द गर्नुपर्ने सिफारिस गरेको भएपनि शिक्षा मन्त्रालयले आवश्यक तदारुकता नदेखाएर विद्यार्थीको स्वास्थ्यमा गम्भीर खेलवाड गरेको उनको भनाई छ ।
शिक्षा मन्त्रालयमा प्याब्सन, एनप्याब्सन र निजी विद्यालय संचालकहरुको हालीमुहाली भएको कारण विद्यालय बन्द नगरी त्रासकै बीचमा पठनपाठन चलिरहेको उनले बताए । विद्यालय बन्द गर्न निर्देशन नदिने तर विद्यार्थीलाई विद्यालयमा नजान आग्रह गर्नुले शिक्षा र स्वास्थ्य मन्त्रालयका समन्वयको अभाव रहेको प्रष्ट हुने उनले बताए ।
सरकारले अपिल गरेर पन्छिन नहुने अध्यक्ष पुरीले बताए । ‘विद्यालय खुला राख्ने या बन्द गरेर अनलाइन कक्षा संचालन गर्ने’ भन्ने विषयमा ठोस निर्णय गरी कडाइका साथ लागु गर्नु पर्नेमा निष्कर्षविहीन सूचना जारी गरेर औपचारिकता मात्र देखाउन खोजेको उनको भनाई छ ।