पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विशेष अधिवेशन अन्तर्गतको बैठकमा आज आफू विरुद्ध परेको अविश्वास प्रस्तावमाथि उठेका प्रश्नको सामना गर्ने कार्यसूचि छ ।
प्रदेश संसद सचिवालयले तय गरेको आजको कार्यसूचिमा अविश्वासको प्रस्तावको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने जनाइएको छ ।
त्यसअघि मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बाँकी रहेका सांसदहरुलाई बोल्न दिइने ।
वैशाख १३ गतेदेखि जारी प्रदेशको विशेष अधिवेशनमा अविश्वास प्रस्तावमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय नेता कृष्णचन्द्र नेपाली सहित १० सांसदले बोलिसकेका छन् ।
मंगलबार पनि सोही कार्यसूचि तय भएको भएपनि एमालेका सांसद राजीव पहारीले कोरोना परीक्षणको माग राख्दै संसद अवरुद्ध गरेपछि कार्यसूचिमा अवरोध पुगेको थियो ।
हिजै लिइएको सांसदसहितको स्वाबमा एमालेका सांसद राजीव पहारी, प्रभा कोइलाा र कांग्रेस सांसद मनकुमारी गुरुङमा कोरोना पुष्टि भएको छ ।
मंगलबारको कार्य व्यवस्था परामर्श समितिको बैठकले कोरोना पोजेटिभ भएका सांसदलाई भनाई राख्न नदिने तर मतदान प्रक्रियामा सहभागी गराउने सहमति बनेको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचि अनुसार आजै अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुने भएको छ ।
मुख्यन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसद गरी २८ जनाकाे अविश्वास प्रस्ताव पेस भएकाे छ ।
गण्डकीमा सरकार बनाउन आवश्यक मत ३१ मुख्यमन्त्री गुरुङसँग नरहेपछि नयाँ सत्ता समिकरणमा कांग्रेस-माओवादी एक भएका थिए ।
जनमाेर्चाका तीन सांसदले समेत उनकाे समर्थन फिर्ता लिएका छन् । एमालेसँग रहेकाे २७ सांसद छन् । स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे)ले समेत एमालेलाई गरेकाे समर्थन छाडेर जनमाेर्चाले जसलाई भाेट हाल्छ उसैलाई भाेट दिने मेन समाचारलाई दुई दिनअघि दिएकाे अन्तर्वार्तामा बताएका थिए ।