काठमाडौं l ‘के भूल भयो प्रिया, मसँग बोल्दिनौ’, ‘यी हल्लाहरू हुन्’, ‘रिसाइदेऊ न बिन्ती’, ‘यहाँ देशको छ चिन्ता’, ‘नाइँ नभन्नू ल’, ‘कुन देशकी परी हौ’,‘मर्ने कसैलाई रहर हुँदैन’ नै, आदि हिट गीत/गजल सुन्नुभएकै होला।
यी त केवल सानो उदाहरण मात्र हुन्। वरिष्ठ सर्जक तथा समालोचक प्रा.डा.कृष्णहरि बरालले लेखेका एक से एक गीत जनजिब्रोमा छन्। उनले लेखेका गीत चर्चामा मात्र होइन् कालजयी पनि छन्।
बरालको व्यक्तिगत, पेशागत जीवन तथा साहित्यिक एवं समालोचकीय व्यक्तित्वका रुपमा विशिष्ठ व्यक्ति हुन् ।
उनी कुनै पनि कुरामा कृत्रिमता मन पराउँदैनन। साधारण भाषाशैली मन पराउँछन् । स्पष्ट वक्ता हुन्। जे बोल्नुपर्छ स्पष्ट, सरल र सबैले बुझ्ने गरेर बोल्नुपर्छ भन्ने उनको मान्यता हो।
उनी आफ्ना गीत जस्तै सरल र साधारण छन्। बोल्ने हरेक शब्दको गहिराई सुन्नेको बौद्धिकतामा निर्भर गर्छ। जटिल बनाएर, नबुझ्ने गरेर, घुमाएर बोलिने भाषाशैली मनपर्दैन उनलाई।
‘के भूल भयो प्रिया’ र ‘मिसावट छ पिरतीमा’ उनका आधुनिक गीत मध्य बहुचर्चित गीत हुन् । फिल्मका भने ‘म मर्नेबेला तिमी चाहिँ आउनु’, ‘जूनको ज्योति ल्याएर दिन्छु म’, ‘यी आँखामा तिमी छौ’, ‘पागल म बन्न सक्छु’, ‘सबको कहानी उस्तै उस्तै नहुने रहेछ’ लगायतका गीतहरू पर्छन्।
यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छ्यौ
साच्चै नबुझ्ने हौं कि, नबुझ्ने जस्तै बन्छ्यौ
तिम्रै सुरक्षा गर्न, गार्हो छ यहाँ मलाई
तिमी धर्ती छोडी माथि, आकाशका तारा गन्छ्यौ
विसं २०३३ सालदेखि गीत लेखनमा लागेका बरालकाे सक्रियता अहिले पनि उत्तिकै छ । तर, बराललाई आफ्नो लेखन सिर्जना प्रति न कुनै घमण्ड छ न त कुनै आशक्ति।
‘गीत लेखन दबाबले लेखिने विषय होइन्। मैले पनि आजसम्म यो विषयमा लेख भनेर कसैले भनेको आधारमा लेखेको छैन। मैले बेफिक्री गीत लेखिरहे । गीतहरू रेकर्ड भइरहे। दर्शकले मन पराइरहे’, उनले दिने जवाफ यही हो।
आफ्नो प्रतिष्ठाका लागि पनि उनी हरेक गीतमा मिहिनेत गर्छन्। रचना भन्ने चिज सधैँ सुन्दर मात्र रचिन्छ भन्ने कुरा गलत हो । तर, यसो भन्दैमा आफूले दिने स्तरीयतालाई घटाउन सक्दैनन् उनी।
‘अहिले पनि दैनिक गरेर मलाई फरक फरक विषयमा गीत र गजल लेखनका लागि निश्चित समयावधिमा चाहियो भन्दै अनुरोध आइरहन्छ’, उनले सुनाए, ‘तर, सिर्जना दबाबमा त सिर्जना हुने कुरा होइन्।’
कहिले एक्लै भएको बेलामा उनको सारथी हुन गीत र गजल। कहिले हिँड्दै गर्दा बाटोको सहयात्री।
म त अलपत्र पर्छु तिमी नभएको बेला
मुटु चल्दाचल्दै मर्छु तिमी नभएको बेला
दुनियाँले पागल नै भनेपनि, म त तिम्रो
तस्वीरसँग कुरा गर्छु तिमी नभएको बेला
यसैगरी उनले जीवनको ४० वर्ष नेपाली गीत, गजललाई गुणस्तरियता प्रदान गरिरहेका छन्। चलचित्र, एल्बम लगायत विभिन्न गरेर उनका करिब ८ सय गीत रेकर्ड भएका छन् । चलचित्रका २ सय र एक सय गजल रेकर्ड छन् उनका। आधुनिक गीतको एकिन संख्या उनले हिसाब गरेका छैनन्।
‘सुरुवाती दिनमा गन्ति गरिन्थ्यो। गीतको संख्या बढ्दै जाँदा खुशिमा ज्वारभाटा पनि उठ्थे। तर, जब सोख लतमा बदलियो। गन्ति गर्ने रहर पनि बिस्तारै सेलाउँदै गयो’, उनी भन्छन्।
निधारको क्षेत्रफल बढिरहेको छ। जीवनको लामो अवधि प्राध्यापन पेशामा पनि आबद्ध भए उनी। अचेल भने निवृत्त जीन्दगी बाँचिरहेका छन्।
सिन्धुलीको हतपतेमा विसं २०१० कात्तिकमा बरालको जन्म भएको थियो। मध्यम परिवारमा जन्मिएका उनी ७ सम्म स्थानीय विद्यालयमा अध्ययन गरे। त्यसपछि ८ देखि बिएसम्म पढ्न जनकपुर पुगे।
कलेजका दिनहरुबाट नै उनी गीत गजल लेखिरहन्थे। तर, रेकर्डबारे खासै जानकारी उनीमा थिएन्। तर, जनकपुरको पढाई सकेर उनी काठमाडौं आए। त्यसपछि भने लेखनलाई तिव्रता दिन थाले। ‘स्कुल पढ्दा कविता लेखिन्थ्याे। त्यसपश्चात् कलेज पढ्दा कविता र गीतमा झन् आशक्ति बढ्यो’, उनी भन्छन्।
पहिलो रेकर्डेड गीत
उनको पहिलो गीत ‘म भक्त हुँ यो देशको’ हो। तर, गीत भन्दा पनि उनको कविता हो। २०३३ सालमा उनले लेखेको थिए ।
उनले त्यो दिन सम्झँदै भने, ‘०३१ सालमा कलेजमा कार्यक्रम थियो। कार्यक्रममा मैले आफ्नै गीत गाएको थिएँ। त्यो बेलामा गोरखापत्रका लागि जनकपुर हेर्ने लीलासिंह कर्मा आएका रहेछन्। उनले कार्यक्रम सकेपछि गोरखापत्रमा गीत छाप्छु भन्दै केही गीत दिन आग्रह गरे। मैले नाइँनास्ती गरिनँ।’
उनले गीत लिएर गए। त्यसपछि बराल काठमाडौं घुम्न आएका थिए। त्यसबेला उनले रेडियो नेपाल घुमे।
उनी सम्झिन्छन्, ‘रेडियो नेपालमा एउटा बट्टा हुन्थ्यो, त्यसमा गीत खसालेपछि हेरेर राम्रो भए स्वीकृत हुने चलन हुन्थ्यो, मैले एकै पटक दशवटा गीत खसालेँ, जसमा छवटा गीत छानिएछन्।
त्यसमा एउटा गीत थियो, ‘म भक्त हुँ यो देशको’ पाण्डव सुनुवार र सुरेश श्रेष्ठको स्वर अनि गोकुल राईको संगीतमा पहिलो गीत रेकर्ड भयो।
०३६ सालमा रानी चाँदनी शाहले आफ्नो जन्मदिनमा यो गीत ‘फर्माइस’ गरिदिएपछि बराललाई सांगीतिक क्षेत्रमा चर्चित बन्न थप बल पुगेको बताउँछन्।
त्यसमा एउटा गीत थियो, ‘म भक्त हुँ यो देशको’ पाण्डव सुनुवार र सुरेश श्रेष्ठको स्वर अनि गोकुल राईको संगीतमा उनको पहिलो गीत रेकर्ड भयो।
हजुरबुबाले सिकाउने श्लोक र लेखनमा आकर्षण
छ वर्षको हुँदा आमाको मृत्युपश्चात हजुरबुबा र आमासँग हुर्किए उनी। हजुरबा आफैँ शास्त्र र उपनिषद् पढ्थे। बुबा पनि साहित्य र शास्त्रमा रुचि राख्थे।
प्रायः हजुरबासँगै सुत्ने बरालको बाल मस्तिष्कमा हजुरबाले पढेका श्लोकहरू यसरी पसे कि तिनै श्लोकको माधुर्यले बराललाई भविष्यमा प्रसिद्ध गीतकारको बाटोमा ल्याउन सफल भयो।
कति बोलेर पछुताउछन् म नबोलेर पछुताएँ
खोल्नै पर्ने मनका कुरा नखोलेर पछुताएँ
भन्छन् चोर्न हुन्न केही एउटा मन शिवाय
चोर्न मिल्ने मन पनि नचोरेर पछुताएँ
बुबाले लेखनाथ पौड्याललगायतका कविहरूका पद्य श्लोक पढिरहँदा बराल ध्यानपूर्वक सुन्थे। लेख्ने कला कपि गर्थे। बराल जानी नजानी कविता कोर्थे।
५ कक्षामा अध्ययन गर्दा एउटा कविता लेखेर कापी पुरस्कार जितेको सम्झन्छन् बराल। ‘बिस्तारै मैले लेखेका कविताहरू बुबा र हजुरबुबाले मन पराएन थाल्नु भयो। विस्तारै लेखनको अभिरुचि सुरु भयो’, उनी सुनाउँछन्, ‘लेख्दै गएपछि अध्ययन सुरू भयो। अध्ययनले लेखनलाई व्यापकता पनि बनाउँदै लग्यो।’
प्राध्यापन पेशा
उनी जीवनमा ४० वर्ष भन्दा बढी प्राध्यापन पेशामा संग्लन भए। जब जनकपुरमा बिए पास गरे। तब उनी काठमाडौं आइपुगे। काठमाडौं आएपछि उनले सिधैं प्राध्यापन पेशा अंगाले।
‘२०३३ सालमा म काठमाडौं आएँ । सो समय पहिलो पटक कीर्तिपुर माध्यमिक विद्यालयमा पढाउन थालेँ । त्यसपछि ल्याब्रोटरी हाइस्कुल सरेँ । ०४३ मा महेन्द्ररत्न क्याम्पसमा पढाएँ । ०५० सालबाट त्रिभुवन विश्वविद्यालयको प्रोफेसर भएँ’, उनी एक सासमा आफ्नो यात्रा सुनाउँछन्।
अहिले भने अवकाश लिएको पनि ५ वर्ष हुन लाग्यो।
पुस्तक लेखन
प्राध्यापन पेशा अंगालेपछि अध्ययन स्वत गर्नुपर्ने भइहाल्यो। त्यो बाहेक पनि आफ्नो विज्ञता अनुसार बरालले पुस्तक प्रकाशन गरेका छन्। ‘मेरो काम नै पढ्ने र पढाउने भयो ।प्राध्यापक भएपछि अध्ययन जरूरी भइहाल्यो। कोर्सका किताब लेख्न, अनुसन्धानमूलक किताब लेख्नुपर्ने बाध्यता थियो’, उनी सुनाउँछन्।
त्यसबाहेक गजल समालोचना, अनुसन्धान, ‘गीत सिद्दान्त र इतिहास’, ‘गजल सिद्दान्त र परम्परा’, ‘एक फूल अनेक पत्र, ‘कृष्णहरि बरालका गीतहरू लगायत दुई गीतिसंग्रह गरेर करिब ५० पुस्तक बजारमा आएका छन्।
मृत्युको मुखमा पुगेर फर्केपछि लेखिएको गीत हिट
विसं २०७१ को सबैभन्दा हिट गीत हो। ‘मर्ने कसैलाई रहर हुँदैन।’ यो गीतले मृत्युबारे वकालत गरिदिएको छ। विकास आचार्यको फिल्म ‘नाइँ नभन्नु ल २’ मा गायक प्रेम परियारले गाएका थिए। त्यो वर्ष यो गीत वर्षको उत्कृष्ट बनेको थियो।
मर्ने कसैलाई रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन
भागेर जाउँ कुन ठाउँ जाउँ
मान्छे नमर्ने शहर हुँदैन
यो गीत लेख्न अघि उनी अमेरिका कार दुर्घटनामा परेका थिए। ९ दिनमा होश आएको थियो । त्यसपछिको ४, ५ दिन फेन्टेसीको अवस्थामा रहे। दुर्घटना भएको ४५ दिन पछि उनी नेपाल आए।
उनी एक्लै नेपाल फर्किएनन्, दुर्घटनाले दिलाएको एउटा तीतो स्मृति पनि उनीसँग थियो। त्यही पल आफ्नी कान्छी छोरीले उनलाई सुझाइन्-बुबा कहिलेकाहीँ त मृत्युका बारेमा पनि कलम चलाउन आग्रह गरेकी थिइन्। यो गीत आफ्नै छोरीको आग्रहमा बरालले कोरेका थिए। मृत्यु नजिक पुगेर फर्किएका बराललाई मृत्यसँग डर चाहिँ कत्तिको लाग्छ?
‘मलाई मृत्युसँग डर लाग्थ्यो। तर, दुर्घटना भएपछि म मृत्युको नजिक पुगेर फर्किएँ। मृत्युलाई एकदमै सहज लिएको छु। मृत्युको फेरो समातेर फर्किएकाले होला अब डर छैन। एक दिन आखिर जानैपर्छ भन्ने लाग्छ’, मृत्युबारे बोल्छन्।
याे पनि:
‘म यात्री हुँ, दोबाटोको सालिक होइन’
शीतल कादम्बिनी अर्थात् सफल सर्जक
धर्मेन्द्र अर्थात् भर्सटाइल गायक
संगीतमा हरि, हरिको जीवनमा संगीत