काठमाडौं । वैशाख १५ गतेदेखि उत्पन्न गण्डकी प्रदेश सभाको गतिरोध अन्त्यका लागि सभामुख नेत्रनाथ अधिकारीसँग दलका नेताहरुको बैठकमा छलफल जारी छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिमा दलका सचेतकसँग सहमति जुट्न नसक्दा आज दिउँसो ३ बजेका लागि संसदमा सहभागी दलका नेताहरुसँगको बैठक बोलाइएको थियो । बैठककाे छलफल सवा ३ बजेबाट सुरु भएकाे हाे ।
बैठकमा सभामुख नेत्रनाथ अधिकारी, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, विपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल, माओवादी केन्द्रका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जनता समाजवादी पार्टी (जसपा)का हरिशरण आचार्य सहभागी छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने क्रममा जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा उपस्थित नभएको कारण देखाउँदै सभामुखले अनिश्चितकालका लागि सभाको अधिवेशन स्थगित गरेका थिए ।
त्यस पश्चात्त सभामुखसँग रुष्ट बनेको सत्तारुढ दल नेकपा एमालेले सभामुखको त्यस दिनको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आएको छ । एमालेका सांसदहरुले खुलेरै सभामुखको राजीनामा समेत माग गरिरहेका छन् ।
विशेष अधिवेशनको जुन उद्देश्यका निम्ति बोलाइएको हो, त्यसको कारवाही रोकिँदा अविश्वासको प्रस्तावको औचित्य नभएको मुख्यमन्त्री गुरुङले बताउँदै आएका छन् ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले लिखित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता भएको भन्दै मौखिक रुपमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने जनाउँदै आएको छ ।
सरकार बन्न गण्डकीमा ३१ मत चाहिन्छ । हाल एमालेका २७ मत गण्डकीमा छन् । एक जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सरकारका युवा तथा खेलकुद मन्त्री भई मुख्यमन्त्री गुरुङलाई समर्थन गर्ने बताएका छन् ।
उनी सहभागी हुँदा पनि मुख्यमन्त्रीलाई थप ३ सांसदको जोड चाहिन्छ । उक्त अविश्वासको प्रस्तावलाई पास वा फेल गराउने भन्ने निर्णायक मत जनमोर्चाका ३ सांसद हुन् ।