काठमाडौं । वैशाख १५ गतेदेखि उत्पन्न गण्डकी प्रदेश सभाको गतिरोध अन्त्य भएको छ । आज बसेको कार्य व्यवस्था परामर्श समितिले वैशाख २७ गते बिहान ११ गते बैठक आह्वान गर्ने तय गरेको हो ।
सभामुख नेत्रनाथ अधिकारीसँग दलका नेताहरुको मंगलबार बसेको बैठक निष्कर्षविहीन बनेपछि आज बिहीबारका लागि परामर्श समितिको बैठक बोलाइएको थियो । बैठकमा प्रदेश सभामा थाती रहेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
मंगलबार बसेको सभामुखसहितको दलका नेताहरुको बैठकमा मुख्यमन्त्रीले कोरोना महामारीको कारण पनि जेठको पहिलो साता परामर्श समितिको बैठक राख्न सुझाव दिए । तर विपक्षीसहितको गठबन्धनका नेताहरुले यहीँ साता टुंग्याउन पर्ने दबाब दिएका थिए ।
अहिले मुख्यमन्त्री आफैं कोरोना संक्रमण भई होम आइसोलेसनमा छन् । उनीसहित पाँच सांसद संक्रमित छन् । बैठकमा उनीहरुलाई छुटै बस्ने व्यवस्था मिलाइने भएको छ । तर सम्बोधन भने गर्न पाउने छैन । मुख्यमन्त्रीले छलफलमा उठेका प्रश्नको सामना गर्नुपर्ने भएपनि उनको अख्तियारी लिँदै एक मन्त्रीले सम्बोधन गर्ने छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने क्रममा जनमोर्चाका सांसद खिमविक्रम शाही संसदमा उपस्थित नभएको कारण देखाउँदै सभामुखले अनिश्चितकालका लागि सभाको अधिवेशन स्थगित गरेका थिए ।
जनमोर्चाकी सचेकत पियारी थापाले आफ्ना सांसद अज्ञात भएको भन्दै कारवाही रोक्न माग गरेकी थिइन् । सांसद शाही सोही दिन चरक मेमोरियल हस्पिटलमा कोरोना संक्रमित भई भर्ना भएको पत्तो लागेको थियो । हाल उनी अस्पतालबाट होटलमा सिफ्ट समेत भइसकेका छन् । जनमोर्चाले आफ्ना सांसद भेटिएको खबर संसदमा सूचना दिइसकेको छ ।
मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ सांसदले लिखित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता भएको भन्दै मौखिक रुपमा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने जनाउँदै आएको छ ।
सरकार बन्न गण्डकीमा ३१ मत चाहिन्छ । हाल एमालेका २७ मत गण्डकीमा छन् । एक जना स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सरकारका युवा तथा खेलकुद मन्त्री भई मुख्यमन्त्री गुरुङलाई समर्थन गर्ने बताएका छन् । उनी सहभागी हुँदा पनि मुख्यमन्त्रीलाई थप ३ सांसदको जोड चाहिन्छ ।
उक्त अविश्वासको प्रस्तावलाई पास वा फेल गराउने भन्ने निर्णायक मत जनमोर्चाका ३ सांसद हुन् ।