काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बस्नेगरि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।
हालसम्म रिक्त रहेका विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नका लागि प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ ।
लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त छन् ।
रिक्त रहेका निकायहरुमा अध्यादेशमार्फत पदपूर्ति गर्न सरकारले तयारी गरेको हो । यसका लागि केही दिनअघि नै राष्ट्रपति विद्यादेवि भण्डारीले संवैधानिक परिषद् अध्यादेश जारी गरिसकेकी छन् ।
राष्ट्रपतिले जारी गरेको अध्यादेश अनुसार अब संवैधानिक परिषद्को बहुमत सदस्यहरुले पदाधिकारी नियुक्ति सिफारिस गर्नसक्ने व्यवस्था छ ।
संवैधानिक परिषद्मा प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, सभामुख, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहेने व्यवस्था छ ।
यसअघिका बैठकहरुमा सभामुख र प्रतिपक्षी दलका नेता लगातार अनुपस्थित भएपछि प्रधानमन्त्रीले राष्ट्रपतिमार्फत संवैधानिक परिषद् ऐन संसोधन अध्यादेश ल्याएका थिए । सोही अध्यादेश अनुसार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतमा पदाधिकारी नियुक्त भइसकेका छन् ।