पोखरा । केहीदिन यता गण्डकी प्रदेशमा कोरोना भाइरसका संक्रमित थपिने क्रम जारी छ ।
प्रदेशका ११ जिल्लामध्ये अधिकांश ठाउँमा निषेधाज्ञा पनि गरिएको छ । तर, संक्रमितको संख्या भने उकालो लागिनै रहेको छ । आइतबार साँझसम्मकाे अपडेटअनुसार प्रदेशभर २,५३१ जनामा संक्रमण पुष्टि भएकाे छ । त्यसमध्ये १,७८५ जना निकाे भएका छन् ।
लमजुङ पनि त्यसमध्येको १ जिल्ला हो । लमजुङमा आइतबार साँझ मात्र १४ जनामा पुनः संक्रमण पुष्टि भएको छ ।
संक्रमितको संख्या २ सय ७७ पुगेको छ । १ सय २० जना निको भई घर फर्किएका छन् । सक्रिय संक्रमित ५६ जना छन् ।
संक्रमितको उपचारका लागि जिल्ला सामुदायिक अस्पताल बेशीसहरलाई तोकिएको छ ।
देशका विभिन्न ठाउँमा संक्रमितको स्याहार नभएको खबर सार्वजनिक भइरहँदा भने लमजुङ अस्पतालका स्वास्थ्यकर्मी बिना हिच्किचाहट संक्रमितको उपचारमा खटिएका छन् ।
आइतबार १ संक्रमितको खुट्टाको घाउको उपचारका लागि स्वास्थ्यकर्मी खटिएकी देखिइन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको उक्त तस्बिरमा स्वास्थ्यकर्मी स्वास्थ्य सुरक्षा सामग्री लगाई संक्रमितको उपचारमा खटिएकी देखिन्थिन् ।
मुलुकका अन्य ठाउँहरुबाट संक्रमितले स्वास्थ्यकर्मी तथा चिकित्सकको अनुहार नै देख्न नपाएको गुनासो छ । यसै सन्द्रभमा सार्वजनिक उक्त तस्बिर प्रेरणादायी छ ।