काठमाडौं । उपत्यकाका ३ जिल्लामा जारी निषेधाज्ञा आज बुधबार राति १२ बजेबाट सकिँदै छ । निषेधाज्ञाका कारण अत्यावश्यक सेवाबाहेकका क्षेत्रमाथि प्रतिबन्ध कायमै छ ।
धेरै क्षेत्रमाथि निषेधाज्ञाको असर देखिरहेकै बेला पुनः निषेधाज्ञा थप गर्नुपर्ने माग उपत्यकाका सिडिओहरुबाटै सार्वजनिक भइरहँदा जनतामा त्रास सिर्जना भएको छ ।
तर, गृह मन्त्रालयले भने निषेधाज्ञालाई पूर्ववत् मोडलमै जारी राख्न नहुने मनसाय व्यक्त गरेको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओलाई गृहले खुकुलो मापदण्ड तय गर्न भनेको छ ।
गृहको उक्त प्रस्तावलाई उपत्यकाका सिडिओहरुले छलफल गरिरहेका छन् । भदौ ४ गतेबाट लागु गरिएको निषेधाज्ञा ३ पटकसम्म थप भई बुधबार रातिसम्म कायम गरिएको हो ।
श्रमजीविको संख्या धेरै भएको सहरमा निषेधाज्ञा थप गरिरहँदा दैनिक गुजारा चलाउन हम्मे परेका खबरहरु आएका छन् । स्वास्थ्यका दृष्टिकोणले कोरोना भाइरस संक्रमण थप भइरहेको छ भने, उता मजदुरी गर्नेहरुमाथि अन्याय भएको भन्दै आवाज उठेका छन् ।
निषेधाज्ञाको मोडलबारे छलफल भइरहँदा १ साता थप गरेर रोजगार क्षेत्रलाई चलायमान बनाउनुपर्ने धारणा अधिकांशको छ । सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लागू गर्न सकिने विकल्प पनि अघि सारिएको छ । निषेधाज्ञा अब थप हुँदा कस्तो मोडलमा लागू गरिने भन्नेबारे आजै निर्णय हुने छ ।