काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आइतबार बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुर्नगठनबारे नीतिगत छलफल भएको बताएका छन् ।
‘व्यक्तिहरूबारे केही कुराकानी भएको छैन । आवश्यक परेको खण्डमा प्रधानमन्त्रीसँग त्यसबारेमा पछि नै छलफल हुन्छ,’ उनले भने ।
सरकारको कामकारवाहीलाई लिएर पछिल्लो समय विभिन्न टिकाटिप्पणी भइरहेका छन् । मन्त्रीहरुले पूर्ण क्षमतामा काम गर्न नसकेको भन्दै पार्टी भित्रबाटै आलोचनासमेत भइरहेको छ । सोही सन्दर्भमा सचिवालयमै मन्त्रिपरिषद् पुर्नगठनबारे छलफलको एजेन्डाले प्रवेश पाउँदा केही मन्त्री हेरफेर हुन सक्ने पक्कापक्कीको संकेत बनेको जानकार बताउँछन् ।
सरकारलाई प्रभावकारी बनाउन विभिन्न कोणबाट छलफल भएको भन्दै पुर्नगठनबारे भने ठोस योजनाको सन्दर्भमा पार्टी प्रवक्ता श्रेष्ठले खुलाएका छैनन् ।
मन्त्रिपरिषद्मा सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालयमा मन्त्री पद खाली रहेको अवस्था छ । प्रवक्ता श्रेष्ठले आइतबारको बैठकमा नीतिगत रूपमा चारवटा विषयको कार्यसूची बनाइएको बताए ।
आइतवारको बैठकले मुख्य रूपमा मन्त्रिपरिषद पुर्नगठनका नीतिगत मापदण्डका विषयमा विभिन्न कोणहरूबाट सुझाव दिइएको बताइएको छ । उनले भने, ‘मन्त्रिपरिषद्को पुर्नगठनबारे स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय गरिएको छ ।’
बाँकीको कार्यसूचीमा संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सरकारलाई निर्णय गर्नका सजिलो पार्ने गरी आधार तयार पारिदिने, सांगठनिक एकीकरणका बाँकी कामहरू पूरा गर्ने र संगठन र विभागका निर्णयहरूबारे छलफल र अनुमोदनको प्रस्ताव, स्थायी कमिटी र केन्द्रीय कमिटीका रिक्त पदपूर्ति गर्ने पार्टीका केन्द्रीय सदस्यहरूलाई आर्थिक सहयोग गर्नेबारे छलफल भएको छ ।
सचिवालय बैठक सोमबार पुनः बस्ने भएको छ ।