काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप १,४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालभर संक्रमितको संख्या ६९ हजार नाघेको छ ।
त्यति नै अवधिमा १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ४५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । निको हुनेका संख्या भने ५० हजार नाघेको छ ।
बितेको २४ घन्टामा ४५७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मुलुकभर सक्रिय संक्रमितको संख्या १८,४३७ पुगेको छ । जसमध्ये ८,६१४ जना संस्थागत आइसोलेसनमा र ९,८२३ जना घरमै रहेको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घन्टामा मात्रै काठमाडौं उपत्यकामा ७५५ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा सर्वाधिका ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको हो ।
मोरङमा ७३, बाँकेमा ५३, रूपन्देहीमा ८६ र कैलालीमा ४५ जनामा पनि कोरोनभाइरस भेटिएको छ ।
पछिल्लो २४ घन्टामा ११,४४९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनका अनुसार अहिलेसम्म नेपालमा ५०,४११ जना संक्रमित निको भएका छन् ।
गम्भीर लक्षण भएका बिरामीमध्ये २३२ जना सघन उपचारमा र २८ जना भेन्टिलेटरमा छन् । अहिले देशभरि ६,५६५ जना क्वारन्टीनमा छन् ।