काठमाडौं । नेपाल रेल्वे कम्पनीले कर्मचारी पदपूर्तिका लागि माग गरेको आवेदनमा अत्यधिक संख्यामा आवेदन परेको छ । कम्पनीले विभिन्न पदमा १ सय २९ जना कर्मचारी माग गरेको थियो ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार आवेदन दिने अन्तिम मितिसम्ममा ३२ हजार जनाले आवेदन दिएको जानकारी दिए ।
‘१ सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ,’ उनले ट्विटमार्फत जानकारी दिँदै भनेका छन्, ‘पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ ।’
दोस्रो चरणमा अन्तर्वार्तापछि अन्तमि नामावली प्रकाशन गरिने महाप्रबन्धक भट्टराईले जानकारी दिए । ट्विटमार्फत थप स्पष्ट पार्दै उनले भनेका छन्, ‘सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनोट गरिने छैन । यो गफ हैन, प्रतिबद्धता पनि हो ।’
असोज पहिलो साता नेपालले जनकपुर–जयनगर रुटमा रेल सञ्चालनका लागि २ वटा ट्रेन सेट भित्र्याइसकेको छ ।
कर्मचारी अभावको कारण देखाउँदै कम्पनीले रेल सञ्चालन गर्न सकेको छैन । कर्मचारी पदपूर्तिपछि रेल सञ्चालन हुने आशा भने बढेको देखिन्छ ।
झन्डै १ अर्ब लागतमा भारतबाट खरिद गरी ल्याइएका रेल हाल इनरुवामा पार्किङ गरी राखिएको छ ।