जसरी
हिरा, हिरामा राखेर काट्न मिल्छ
फलामलाई ,फलामले काट्न मिल्छ
ठिक त्यसरी नै
भोकलाई, भोकले काट्न नमिल्ने रैछ,
नत्र
चिसो झरीमा रूझ्दै
हिले भुइँमा मारेको, पलेँटीमाथि
आँसुले भात मुछ्दैँ, पेट भर्न
मलाई पनि मन हुन्नथ्यो होला,
यदि
चुलो छेउछाउ नुन–तेल भैदिए
भित्ताको थैलो रित्तो नभैदिए
लाज मारेर, आँसु झारेर
म किन हात पसार्थेँ र,
आखिर मैले
भोक र भारी जे बोके पनि
आँसु र पसिना पालैपालो चुहाउँछु
पर्न त के फरक पर्छ र
एक दिन सबैले चुहाउँछन्
फरक यत्ति हो
अरूहरू खानै खानाले किचेसी
औषधीले थिचेसी चुहाउँछन्
त्यहीँ एक मुठी सास
म भोकाएर चुहाउँछु,
भोलि फेरि
विचरा भन्नुभन्दा सके
आजै मेरो भोक टाल्दिनु
नसके, कोही बात छैन हजुर
भोक टाल्ने सियो धागोमा
आगो नबाल्दिनु ।।