काठमाडौं । कर्णाली प्रदेश सभामा सत्तारुढ नेकपाको तर्फबाट प्रमुख सचेतकको जिम्मेवारीमा रहेका गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गराएका छन् ।
आइतबारकाे मितिमा पत्र जारी गर्दै मुख्यमन्त्री शाहीले कामकारवाही सन्तोषजनक नभएको भन्दै जिम्मेवारीमुक्त गराएको जानकारी दिएका छन् ।
‘नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएकोमा तपाईका कारवाही सन्तोषजनक नभएकोले…जिम्मेवारीबाट मुक्त गरेको छु,’ पत्रमा भनिएको छ ।
गुलाबजंगको ठाउँमा सिताकुमारी नेपालीलाई तोकिएको छ । उनी यसअघि सचेतक थिइन् । यससँगै कर्णालीमा सरकार सञ्चालन र पार्टी व्यवस्थापनलाई लिएर किचलो सुरु भएको छ ।
त्यसअघि आइतबार मुख्मन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेकपा प्रदेश सभाका सदस्य यमलाल कडेंलको नेतृत्वमा बहुमत १८ सदस्यले पार्टीमा अविश्वास प्रस्ताव दर्ता गरेपछि विवाद उत्पन्न भएको थियो । संसदीय दलमा प्रस्ताव दर्ता गरेकाेमा मुख्यमन्त्रीकाे असन्तुष्ट बाहिर आएकाे छ ।
शाहीले आइतबारकै मिति राखेर काम सन्तोषजन नदेखिएको भन्दै शाहलाई हटाएपछि विवादले थप नयाँ मोड लिने देखिन्छ ।
सोमबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेर विवाद सल्टाउन आग्रह गरेका थिए । उनले एकता प्रकृया नसकिदैं यस किसिमको विवादले सही नतिजा नदिने बताएका थिए ।
तत्कालीन नेकपा एमालेको तर्फबाट दुबै गुटका सांसद एक भएका छन् भने पूर्व माओवादीका ३ सांसद समेत मुख्यमन्त्री शाहीको विपक्षमा देखिएका छन् । यो अवस्थामा संसदीय दलमा शाही अल्पमतमा परेसँगै नयाँ मुख्यमन्त्री चुन्न सक्ने सम्भावना बढेको छ ।
प्रदेश तहका नेताहरु केन्द्रको राजनीतिक प्रभावले काम नहुने भन्दै अडान छाडेका छैनन् । पूर्व एमालेबाट मुख्यमन्त्रीको प्रबल दाबेदार मानिएका कडेंल भागबण्डामा पूर्व माओवादीले मुख्यमन्त्री पाएदेखि असन्तुष्ट थिए ।
यदि यही अवस्थामा संसदीय दलले शाहीको अविश्वास प्रस्ताव पारित गरेमा नयाँ मुख्यमन्त्री उनैले पाउन सक्ने सम्भावना रहने जानकार बताउँछन् ।