काठमाडौँ । इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ ।
आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।
विभागले भाषा परीक्षा उर्तीण गरी अन्तरवार्तामा सहभागी मध्येबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको हो।
अब इजरायलको पिआइबिएले विभागले सिफारिस गरेको सूचीबाट कामदार छनोट गर्नेछ। त्यसपछि पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।
यसपटक छानिएका कामदारहरूले व्यक्तिको घरमा नभई नर्सिङ होम तथा केयर होमलगायत संस्थाका लागि काम गर्नेछन् । भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।