काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा पोखराले ललितपुर प्याट्रियोट्सलाई ९ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा साविक विजेता ललितपुरको यो लगातार दोस्रो हार हो ।
बर्षाका कारण आउटफिल्ड केहि गिलो भएका कारण सात ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले सात ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको ललितपुरले ५ रनमा पहिलो विकेट गुमायो । कप्तान कुशल भुर्तेल मात्र तीन रनमा आउट भए ।
त्यसपछि पवन सराफपनि ब्यक्तिगत पाँच रनमा आउट भएपछि ललितपुरले १२ रनमा दोस्रो विकेट गुमायो । यस्तै अज्मतुल्लाह ओमाराजईपनि मात्र एक रनमा पेभेलियन फर्किएपछि १८ रनमा ललितपुरले तेस्रो विकेट खेर फाल्यो ।
ललितपुरको स्कोर ३८ रन हुँदा चौथो विकेट गयो । उसका सन्दुम विराकोडी १९ रनमा आउट भए । यस्तै नारायण जोशीपनि ११ रनमा आउट हुँदा ५१ रनमा ललितपुरले पाँचौं विकेट गुमायो । त्यसपछि क्रिजमा आएका सन्दिप जोराले खाता खोल्न नसक्दा ललितपुरले छैटौं विकेट गुमायो ।
बलिङमा नन्दन यादवले तीन तथा विक्रम सोबले दुई विकेट लिए ।
जवाफमा पोखराले ६ ओभर तीन बलमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पहिलो विकेटका लागि रिचार्ड लेभी र रित गौतमले ३९ रनको साझेदारी गरेका थिए ।
तर इपीएलमा पोखराका लागि डेब्यु गरेका रित १२ रनमा आउट भएपछि पोखराले ३९ रनमा पहिलो विकेट गुमायो । उसको जितमा रिचार्डले अविजित ३८ रन बनाए । पहिलो खेलमा ललितपुर काठमाडौं किंग्ससँग पराजित भएको थियो ।
बलिङमा ओमारजाईले एकमात्र विकेट लिए । यो जितपछि पोखराले दुई खेलमा तीन अंक बनाएर शिर्ष स्थानमा उक्लिएको छ । ललितपुर भने अंकविहिन छ ।