काठमाडौं । मानिसका स्तरअनुसारका सपना हुन्छन् । कुनै क्षण सपना विपनामै परिणत भइदिँदा केही मानिसलाई भने अचम्मको खुसी मिल्छ ।
तर, उद्देश्य साथै लगनशीलताको सियोधागो बोकेर हिँड्ने जो कोही यात्राका क्रममा मिल्ने सफलतालाई क्षणिक ठान्छन् ।
र, त्यसपछिको जीवनको अपूर्ण लाग्ने पाटोलाई पूर्ण गर्न तल्लीन भई नै रहन्छन् । जबसम्म उसले आफूलाई अड्याउने ठाउँ भेट्दैन । सन्तुष्टि मिल्ने काम गर्दैन् । आफैंलाई चिन्ने रहर मेट्दैन ।
हो, त्यस्तै खुसी र सन्तुष्टी चिरपरिचित ‘आवाजको दुनियाँको साथी’ दिनेश डिसीले लामो अनुभव र यात्राका क्रममा नभेटाएका होइनन् । उनको आफ्नै गतिशिल स्वभावका कारण एउटै विधा र काममा आफूलाई अडाउन चाहेँनन् ।
वा भनौं उनी आफ्नो क्षमतालाई विभिन्न रुपमा प्रकट गर्न चाहन्थे । कहिले कला त, कहिले सञ्चार, अनि कहिले सिने क्षेत्रबाट ।
उनै ‘आवाजको दुनियाँको साथी’लाई मैले पनि भेट्ने प्रयास गरे । कोरोना भाइरस नामको जिवाणुले भेटघाट बर्जित गरेको छ । तर, दिनेश डिसीलाई भेट्ने समय तय भएपछि भाइरसको कुनै हेक्का भएन ।
बरु, उनलाई सोध्न मिल्ने र सकिने अन्तरकुन्तरका प्रश्नको ठेली उठाइहालें । उनी आफैं पाका सञ्चारकर्मी । अब्बल सञ्चार गृह कान्तिपुर मिडिया ग्रुपको टेलिभिजन र रेडियो प्रमुखको रुपमा हाँकिरहेका छन् ।
सञ्चार सम्बन्धित अति कम र व्यक्तिगत नयाँ पुराना अनुभव खोतल्ने निधो गरे । महाराजगञ्जको औरिकल इभेन्ट्समा भेटिने भइयो । त्यसदिनको शनिबार महिनौंपछिको आराम गर्ने दिन भनी उनले साँचेका रहेछन् । जुन उनले हामीसँगको भेटमा खुलाए ।
कोरोनाले हाम्रो दैनिकीलाई अनियमित बनाएको छ । कर्मजीविलाई पनि त्यसको असर परिरहेकै छ । आराम गर्ने समय कटाएर हामीलाई दिएको महत्वले उनीप्रति म झनै कृतज्ञ भए । प्रश्नका ठेलीमा खास जिज्ञासा थिएनन् ।
कुराको मेलो बढाइहालें उनको स्कुले जीवन अनि पढ्नकै लागि २०४० मा इलामबाट काठमाडौं छिर्दाको भोगाइबाट ।
त्यो अक्करे भिर अनि सुनकोशी तिर
इलाममा जन्मेका दिनेशलाई सानै उमेरमा धेरै भूगोलसँगको परिचय हुने अवसर मिल्यो । उनका बुवाआमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थिए ।
जागिरकै सिलसिलामा चैनपुर, भोजपुर, धनकुटा, विराटनगर, जनकपुर विभिन्न ठाउँमा सरुवाको क्रममा चलिरहन्थ्यो । सरुवा जताजता उनी पनि बुवाआमाको साथमा त्यतैत्यतै ।
त्यसबिचको बाल्यकालको समय पनि सुखद् नै रह्यो । स्कुले जीवनमा उनका साथीभाई सँगै अर्को साथी थियो रेडियो । टिभी आइसकेको थिएन ।
उनी सम्झन्छन्, ‘रेडियोमा एउटा आएको गीत कण्ठ पार्न सबै मिलेर अन्तराअन्तरा छुटाछुटै लेख्थ्यौं । अनि मिलाएर एउटा गीत कण्ठ पाथ्र्यौ ।’
उनको त्यसकिसिमको समय थियो; गोरखापत्रसम्म हेर्न पाइन्थ्यो । कविता कोर्ने, वकृत्वकला, गीत, हाजिरीजवाफमा भाग लिने, पुस्तकहरु पढ्ने माहोल पनि थियो ।
उनका त्यस्तै साथीसँगको संगतले उनलाई कविता कोर्न सिकायो । पुस्तक पढ्ने बनायो । अकबर बीरबलको कथा, चाणक्यका नीतिहरु, चीनियाँ लोक कथा, दन्त्य कथाहरु उनले स्कुले समयमै पढे । नैतिक शिक्षा र व्यावसायिक शिक्षाका कोर्ष स्कुलमै पूरा गरे ।
उनलाई अहिले लाग्छ, ‘त्यो स्थितीमा मेरो लागि शिक्षासँगैको एउटा यात्रा पूरा भएजस्तो । अक्करेको भिर, तुइन, सुनकोशीको तिरदेखि ग्रामिण भूगोलसँगको मेरो परिचय,’ उनी भन्छन्, ‘म इलाममै मात्र भएको भए धेरै थाहा हुन्नथ्यो होला । चैनपुरको बेग्लै परिवेश, भोजपुरको छुटै बेग्लै । पढाइमा पनि म अब्बल थिएँ । फस्ट हुन्थें । अतिरिक्त क्रियाकलापमा मेरो उपस्थितीले नै मलाई शाब्दिक ज्ञान मिल्यो ।’
उनकी आमा निना दाहाल गीतकार पनि थिइन् । राजा महेन्द्रकै पालामा मेचीबाट प्रतिनिधित्व गर्दै रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् । राजा महेन्द्रबाट उनले मेडल पनि पाएकी थिइन् ।
उनका बुवा गोविन्दबहादुर दाहाल प्रखर वक्ता थिए । पहिले प्राध्यानाध्यापक पछि बैंकर भए । उनको पारिवारिक वातावरण यस्तै सुगम माहोलमा बित्यो । जसले उनलाई अध्ययनशील बनाइरहन प्रेरित गर्यो । परिवारको दरिलो जगले हौसला ।
डाक्टरको स्कलरसीप जुरेन्, टेलिफिल्मले स्टार बनायो
इलाममा एसएलसीसम्मको पढाई सकेपछि उनको बाँकी पढाई काठमाडौंमा हुने भयो । २०४० सालमा अमृत साइन्स क्याम्पस (अस्कल)मा उनी भर्ना भए ।
अब्बल विद्यार्थी भएकै कारण उनलाई राम्रो साइन्स पढाई हुने ठाउँ अस्कल नै थियो । कलेज पढ्दाताका उद्देश्य डाक्टरको थियो । तर मेडिकल कलेज पनि पर्याप्त नभइसकेको अवस्थामा बाहिर पढ्न जान टप टेनलाई मात्र अवसर थियो ।
कलेज लाइफमै पनि उनको अतिरिक्त क्रियाकलाप उस्तै थियो, जुनबेला उनले स्कुले जीवनमा प्रस्तुत गरिरहन्थें । स्टेज अनाउन्सरको रुपमा उनले कलेजदेखि नै आफूलाई उभ्याउन सफल भए ।
०४७ सम्म भने उनलाई पढाइको चटारो नै भयो । आइएसीपछि डाक्टर पढ्न स्कलरसीपमा उनी परेनन् । बिएसीपछि पनि कोशिस गरे । त्यसपछि पनि डाक्टर पढ्ने कोटा उनलाई जुरेन ।
मेडिकल रिप्रिजेन्टेटिभ (एमआर) भएर काम गरे । बिचमा स्कुल पनि पढाए । पढाई भने एमबिएसम्म पूरा भयो । एमआर भएर काम गर्दाकै अनुभवले आफूलाई अन्यसँग ‘लिट्रेसी डिल’ गराउन सकेको उनी बताउँछन् ।
नेपाल टेलिभिजनले प्रसारण थालिसकेको थियो । सन्तोष पन्तले टेलिफिल्म बनाउन थालेका थिए । नयाँ कलाकार लिएर पन्तले काम गर्न खोजेपछि कलेजमै हुँदा दिनेशलाई उनका परिवार मार्फत उनलाई प्रस्ताव गयो ।
केही टेलिफिल्ममा एसिस्टेन्टको रुपमा काम गरे । ३ श्रृंखलाको ‘कस्तो लाग्यो’ भन्ने टेलिफिल्मको अन्तिम श्रृंखलामा उनले मेन रोल पाए । जसले उनलाई रातारात स्टार बनायो ।
‘त्यसको ६ महिनामा मैले ‘ट्वाक्क टुक्क’ टेलिफिल्म सुरु गरे । त्यसको ३ हप्तामा मैले ‘विमान चालक’ सुरु गरे,’ उनी सम्झिन्छन्, ‘त्यसबेला म स्टारडमको हाइटमा पुगें ।’
टेलिभिजनको पर्दामा देखिरहेका दिनेशलाई ०५५ सालमा रेडियो कान्तिपुरको स्थापनासँगै कामको अवसर पनि खुल्यो । उनको ‘भ्वाइस’कै कारण त्यसबेला रेडियो कान्तिपुरमा उनलाई सहज अवसर भयो ।
‘मलाई रेडियो कान्तिपुरमा महत्वपूर्ण कुरा फ्रिडम मिल्यो । पारिश्रमिक राम्रो थियो,’ उनी भन्छन्, ‘त्यहाँ पाएको फ्रिडमले मैले आफूलाई देखाउन पाएँ ।’
भविष्य यही हो, निर्क्याैल त्यसैबेला
म काठमाडौंमा महिनाको १ हजारमा होस्टलमा बस्थें । ‘ट्वाक्क टुक्क’बाट मलाई साताकै ७ हजार आउन थाल्यो । २८ महिना बाँच्ने पैसा त मैले एकै महिनामा कमाउन थालें ।
‘ट्वाक्क टुक्क’ गएको ३ हप्ता भएको छैन ‘विमान चालक’ पाएँ । हप्तामा २२ हजार ‘विमान चालक’बाट आउन थाल्यो ।
८८ महिना बाँच्ने मैले १ महिनामै कमाउन थालें । रेडियोमा काम पाएँ । टिभीमा भन्दा कम दुःख थियो रेडियोमा ।
अनि मलाई त्यसैबेलादेखि लाग्न थाल्यो अब मेरो भविष्य मैले यही बनाउनुपर्छ ।
जब मैले मेरो नयाँ प्रस्तुति दर्शक र श्रोतालाई दिँदै गए मेरो शुभचिन्तक पनि थपिदै गए ।
मेरा क्रेजियस्ट फ्यानहरु थिए ।
टेलिभिजन कार्यक्रमको चिठी टिभीले लैजा कि लैजा भनेको याद छ मलाई । पिकअप गाडीमा चिठी लोड गरेर धापासी घरमा राखेको थिएँ ।
जोकहरु हुन्थे । चिठीसँगै पैसा पनि हालेर पठाउँथे, मेरो जोक पढ्दिनु भनेर । खातका खात चिठीमध्ये एउटा चिठी मेरो बुवाले भट्टाउनु भयो ।
जुन रगतले लेखिएको थियो । त्यो हाम्रो लागि युनिक थियो । रगतले लेखिएको चिठी लेख्ने फ्यानलाई भेट्न गएँ ।
विराटनगरको गणेश मार्केटमा सप नम्बर १० मा हुनुहुन्थ्यो पहिला । धरानमा सो भएको समय पारेर गएको थिएँ । तर, दुःखद् त्यसैबेला उसको मामाघर उदयपुर जानु भएको रहेछ ।
विमान चालक टेलिफिल्ममा म देखिँदा टिभीमै फोटो खिचेर उहाँले पूजा कोठामा राख्नुभएको रहेछ ।
म चाहन्थे मेरो राम्रै फोटो उहाँलाई दिउँ । पछि उहाँ निकटमध्ये मार्फत फोटो पनि पठाए । तर, कहिल्यै भेट भने हुन पाएन ।
फ्यानहरुले फोटो खिच्न नपाएर आपसमा कुटाकुट गरेको धरानको घटना पनि याद आउँछ । रिल क्यामेराबाट फोटो खिच्दा खिच्दै सकिएपछि उनीहरु आपसमै भिड्न थाले ।
हलवालाले हामीलाई बाहिर जानुस् भन्न बाध्य भए । म उनीहरुकै निम्ति भोलि बिहान फोटो स्टुडियोमा फोटो खिच्न गएको छु ।
‘टिमवर्कमा विश्वास गर्छु’
कुनैपनि कामको राम्रो नतिजा हाँसिल गर्न त्यसपहिलेको होमवर्कदेखिकै पक्षहरुको स्थिती महत्वपूर्ण हुने दिनेश बताउँछन् । उनी टिमवर्कमा विश्वास गर्छन् । राम्रो टिम भयो भने राम्रै नतिजा वा तारिफ बटुल्न सकिने उनको अनुभव छ ।
‘पक्कै पनि म टिम वर्कमा विश्वास गर्छु, पहिले म घारगुर गरेर काम गर्थें,’ दिनेश भन्छन्, ‘जब मैले एलजी चौधरी क्विज कार्यक्रम बनाउने विनोद चौधरीबाट प्राप्त भयो । विनोद दाई र उहाँहरुका मान्छेका काम देखेपछि, यस्तो लाग्यो हामीले बेस्ट मान्छेहरुसँग नै काम गर्नुपर्छ । इन्केस असफल भयो भने पनि रिग्रेट हुँदैन ।’
फिल्म बनाउँदा होस् वा अन्य कुनै काम गर्दा राम्रो व्यक्तिसँगको काम गर्दा नतिजामा मात्र डिपेन्ट पर्नुनपर्ने उनको तर्क छ । टिमलाई परिचालन गर्नु, उनीहरुलाई सुन्नु नै लिडरको भूमिका हुनुपर्ने उनी सुनाउँछन् ।
‘टिमलाई सुनिरहँदा कुनैपनि आइडियालाई फुलबुट्टा भर्न सकिन्छ । म त्यो आइडियालाई क्रेडिट पनि दिन्छु,’ दिनेश भन्छन् ।
टिमलाई सन्तुलन गर्न सक्नु नै नेतृत्वको गुण हुनुपर्ने उनको भनाई छ ।
‘थ्योरी के हो भने, २१ औं शताब्दीमा पहिलाको जस्तो बहस हुँदैन । पहिला हाकिम भए सबैले उसैलाई मान्ने भन्ने थियो । अहिले त्यो हुँदैन,’ उनी भन्छन्, ‘अहिले काम गर्ने सहकर्मीलाई माया गरेर वा हौसला दिएर काम गर्ने वातावरण तयार गर्नु बहस हुन्छ ।’
समयअनुसारको व्यवहार गर्न सक्नेले नै आफूबाट अरुलाई लिड गराउन सक्ने उनको विश्वास छ । फलस्वरुप उनकै पदचाप पछ्याउँदै कैयाैं व्यक्ति साेही पेशामा स्थापित भइसकेका छन् ।
‘जीवनमा केही छुटे जस्तो लाग्दैन’
उमेर र व्यवहारले पनि मानिसलाई परिपक्क बनाउँदै लैजान्छ । तैपनि जीवनमा गर्नुपर्ने थुप्रै कामहरु र उद्देश्य पूरा भएनन् कि भन्ने सुर्ताले धेरैलाई गिजोलिरहन्छ जीवनपर्यन्त । दिनेशलाई पनि त्यस्तै सायद लाग्दो हो । जीवनमा केही छुट्यो कि ?
‘पहिलो यस्तो हुन्थ्यो । कसैले केही प्रगति गर्यो रे, भन्दा ला म पछि परे कि भन्ने लाग्थ्यो । तर त्यस्तो नहुने रैछ,’ उनी भन्छन्, ‘यो आकाश यति ठूलो छ कि आआफ्नो उडान भर्ने हो । कोही कसैसँग ठोकिदैन पनि र अर्कोले तपाईंको उडान क्षेत्र कभर गर्न सक्दैन ।’
शरीरमा शक्ति हुन्छ । तर, दिमागमा म्याचुरिटी आइसकेको हुँदैन । उमेरका कारणले यस्तो हुने उनी सुनाउँछन् । भन्छन्, ‘फ्रस्टेसन आउने पनि त्यस्तै समयमा हो ।’
‘म आफैंलाई ट्रायल गर्छु’
दिनेशले कला र सञ्चार क्षेत्रका विविध विधामा आफूलाई अभ्यस्त बनाइसकेका छन् । सिने क्षेत्रमा पनि उनको राम्रो पकड छ । त्यस क्षेत्रमा पनि निर्देशकसम्म आफूलाई प्रस्तुत गराउन सफल भए ।
यति धेरै विधामा दिनेशले आफूलाई अति कम समयअन्तरालमै कसरी फिट गराउन सक्छन् त ? ‘म सबै प्रकारका चिजहरु प्रयोग गरौं, प्रयास गरौं भन्ने खालको छु । म आफैंले आफैंलाई जाँच्छु,’ उनी भन्छन्, ‘म आफैंलाई ट्रायल गरिरहेको हुन्छु ।’
बहुसंख्यक मानिसले आफूलाई कुनै कामबाट अनन्त उपलब्धि हाँसिल भयो भने त्यहीँ कामलाई उसले तत्कालै छाड्न सक्दैन ।
तर, दिनेशको सवालमा यो लागु नभएको देखिन्छ । उनी मात्र स्टेजमै रहिरहेको भए; उनका बहुआयाम न उनी आफैंले प्रस्तुत गर्न सक्थें न त दर्शकले हेर्न नै ।
उनले एउटै बिटलाई लगातार निरन्तरता दिएनन् । उनी भन्छन्, ‘नयाँ चिज गरौं भन्ने कारणले नै मैले आफैंलाई विविध विधामा प्रयोग गर्न सकें ।’
तर छुटाउनै नहुने उनको महत्वपूर्ण सफल पक्ष भनेको रेडियो कान्तिपुरबाट आरजे र कान्तिपुर टिभीमा भिजे भई व्यावसायिक यात्रा सुरु गर्दादेखिकै हो । जसबाट उनले जीवनमा सफलता प्राप्त गरेको ठान्छन् । हाल उनी दुबैको प्रमुख छन् ।
‘सरल स्थितीमा छु, नाम कमाउँदा असहज भयो’
लामो यात्रा, असंख्य भोगाई र चुनौतीका श्रृंखला पारपछि दिनेश डिसी आफूले कत्तिको सरल जीवन व्यतित गरे भन्ने ठान्छन् त ?
निरन्तर जसो चर्चामै रहिरहने उनका गतिविधि र सिर्जनशीलताले उनलाई कतै असहज पो बनायो कि ?
उनी भन्छन्, ‘म अहिले एकदम सरल स्थितीमा छु । मैले नाम कमाएपछि निकै असहज भयो । त्यो स्टाटस मेनटेन गर्नलाई र आफूले पब्लिकलाई दिएको क्रियटिभ इनपुटलाई निरन्तर दिमागमा राखी राख्नलाई असहज भयो ।’
मिडिया क्षेत्रबाट केही समय टाढा मात्रै भयो भने ऊ सोसाइटीबाट हराए जस्तै हुन्छ । त्यसैले निरन्तरता दिनकै लागि आफूले हरप्रकारका कामहरु गरेको दिनेश बताउँछन् ।
उनी भन्छन्, ‘म करियरको हिसाबले राम्रो कम्पनीकाे जिम्मेवार ओहदामा छु । पारिवारिक हिसाबले सुखी छु । मेरा दुबै छोरीहरु पढाई सकेर कामको सिलसिलामा विदेशमा छन् । म कम्र्फटेबल जोनमा काम गरिरहेको छु ।’
सबै तस्बिर:बालकृष्ण बस्याल/मेन समाचार