आज विश्व जगतमा तिव्र गतिमा फैंलिरहेको कोरोना कहरमा भरपर्दो भ्याक्सिन उत्पादन हुन सकेको छैन । आफ्नो देशले भ्याक्सिन उत्पादन गर्न सफल भएको विभिन्न देशको दाबी सुनिए पनि अभ्यास मै अलमलिरहेको अवस्थामा छ ।
आम विश्व मानव कोरोना विरुद्धको भ्याक्सिनको विकल्पको खोजी गरी प्रयोगमा ल्याइरहेको सरल पद्दती भनेकै आयुर्वेद प्रणाली हो ।
आयुर्वेद प्रणाली ब्रम्हाजी हुँदै ऋषिमुनिहरुको पालादेखि हालसम्म नयाँनयाँ जडिबुटीहरु खोज, पहिचान र प्रयोगको गहन अनुसन्धान गरिदैँ आएको अवस्था छ ।
समयले नै प्रमाणित गरेका विभिन्न जडिबुटीहरु विभिन्न प्रकारका मानव शरीरका रोग विरुद्ध लड्न लाभदायक बन्दै गएको छ । तिनको प्रयोग पनि बढेको देखिन्छ । आयुर्वेद प्रणालीले शरीरको रोग प्रतिरोधात्मक क्षमता (Immunity power) वृद्धि गरी रोग निवारण गर्दछ ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद औषधी, आहार (सात्विक खाना) बिहार (हिँडडुल), योग ध्यान प्रणायाम, दिनचर्या रात्रिचर्या र ऋृतुचर्याको शास्त्रीय विधिअनुसार पालना गर्नुपर्दछ ।
पछिल्लो समय कोरोना संक्रमणले हामीमा इम्युनिटी कमजोर भएको संकेत एकातिर गरिरहेको छ भने, विभिन्न सामाजिक संजालमार्फत गैर आयुर्वेदकर्मीले गुर्जो, बेसार, तुलसी, अमला, अश्वगन्धा, अदुवा, मरिच, पिपलाको प्रयोग विधि गलत रुपमा व्याख्या गरेका छन् ।
प्रयोगकर्ताले शरीरको दोष प्रकृति (बात, पित्त, कफ) अनुसार सही मात्रामा सही तरिकाले प्रयोग नगर्दा शरीरमा विभिन्न प्रभाव देखिएको जनगुनासो सुन्न थालिएको छ । जनताको स्वास्थ्य समस्याका लागि आयुर्वेद चिकित्सक र आयुर्वेद स्वास्थ्यकर्मीहरु चिन्तित बनेका छन् ।
बिना आयुर्वेद चिकित्सकको सल्लाह बमोजिम जथाभावी मात्रा नमिलाई जडिबुटीको प्रयोग गर्दा शरीरमा नकारात्मक असर पर्न गई अन्य थुप्रै समस्याहरु निम्तिन सक्नेतर्फ सबै सचेत हुनु जरुरी छ ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न के गर्ने ?
१) आफ्नो स्वास्थ्य समस्याकाबारेमा आयुर्वेद चिकित्सकसँग सल्लाह लिई तोकिएको मात्रामा आयुर्वेद औषधी सेवन गर्ने ।
२) दैनिक ८ घण्टा गहिरो निन्द्रा (बेलुका १० बजेदेखि बिहान ६ बजेसम्म) बिचबिचमा सकभर नब्युझिँने । दिउँसो नसुत्ने ।
३) बिहान ब्युझेँदेखि रातिको खाना अघिसम्म कम्तिमा ४८/४८ मिनेटमा पानी घुटुघुटु पिइरहने ।
४) नियमित योग ध्यान प्रणायाम गर्ने ।
५) तनाव नलिने । खुशी, प्रशन्न, उर्जावान् रहन सकारात्मक सोच राख्ने ।