काठमाडौं । नेपालका सरकारी वेबसाइटहरुमा भारतीय ह्याकरहरुले कब्जा जमाउने श्रृंखलालाई पुनः निरन्तरता दिएका छन् ।
शुक्रबार रक्षा मन्त्रालयको वेबसाइट पनि भारतीय ह्याकरकै कब्जामा गएको छ । ह्याकरले मन्त्रालयको वेबसाइट ह्याक गर्दै भारतको झन्डा राखेका छन् ।
इन्डियन साबइर स्क्वाड नामक टिमले उक्त साइट ह्याक गरेको हो । मन्त्रालयकै वेबसाइटमा ह्याकरले ‘ह्याक्ड बाइ आइसिएस आर्मी’ समेत उल्लेख गरेका छन् ।
यसअघि जेठमा नागरिक उड्डयन प्राधिकरणको वेबसाइट पनि भारतीय ह्याकरले नियन्त्रणमा लिएका थिए । लामो प्रयासपछि मात्र प्राधिकरणले वेबसाइट फर्काउन सफल भएको थियो ।
नेपालमा साइबर सुरक्षाको पाटो फितलो भएकाले सरकारी निकायका महत्वपूर्ण दस्तावेज ह्याकरको कब्जामा पुग्ने र दुरुपयोग हुन सक्ने साइबर सुरक्षाका विज्ञहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।