काठमाडौं । बितेको २४ घन्टामा मुलुकभर थप ४,३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यति नै अवधिमा कोरोना संक्रमित थप २१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिनेमा काठमाडौं उपत्यकामा मात्रै २,४०२ जनामा संक्रमण पुष्टि भएको हो । देशभरीका विभिन्न प्रयोगशालामा भएका १६,५३१ वटा नमूना परीक्षणबाट त्यति संक्रमित पत्तो लागेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर १ लाख २६ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७१५ जनाको मृत्यु भएको मन्त्रालयको अभिलेख छ ।
पछिल्लो २४ घन्टामा कोरोना मुक्त भएर घर जानेको संख्या ३,५२२ रहेको छ । संक्रमितमध्ये ८८,०४० संक्रमित निको भइसकेका छन् ।
हाल देशभरि ३७,३८२ जनामा सक्रिय संक्रमण रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२,३३६ जना संस्थागत आइसोलेशनमा र बाँकी २५,०४६ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए ।