• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

बडादशैँ शुरुः आज घटस्थापना

  •  मेन समाचार संवाददाता
  • १ कार्तिक २०७७, शनिबार ०९:१४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ ।

    आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

    पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ ।

    नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत

    गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव(जौ)रोपिन्छ ।

    यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

    जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

    कुल परम्परानुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रुपमा समेत प्रयोग गरिन्छ ।

    विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरिने आजको दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।

    घटस्थापनाको साइत आज बिहान ११ः४६ बजे रहेको समितिले जनाएको छ । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको अध्यक्ष गौतमले बताए ।

    सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको पनि उनले जानकारी दिए ।

    दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

    दुर्गाले आसुरी प्रवृत्तिको प्रतीक चण्ड, मुण्ड, शुम्भ, निशुम्भ, रक्तबीजलगायत राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।

    नौ दिन नौ दुर्गाको पूजा

    यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

    दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ ।

    बडादशैंँको साताैं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

    नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण सबैजसो मन्दिर बन्द छ । शक्तिपीठमा नित्य पूजा भने गरिने जनाइएको छ ।

    टीकाको साइत कात्तिक १० गते १०ः१९ बजे

    दशैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजााराधना गरिने देवीलाई कात्तिक १० गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ ।

    कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने १०ः१९ बजेको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ ।

    विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । यस वर्ष कोरोनाबाट बच्न घरघरमै सुरक्षित रहेर मान्यजनबाट आशीर्वाद लिनुपर्ने छ । व्यक्तिको शरीर रहे मात्र चाडपर्व मनाउन सकिने भएकाले सुरक्षित तरिकाले दशैँ मनाउन समितिले आह्वान गरेको छ ।

    पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रि जाग्राम रहेर पूजा लगाई धन, ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ ।

    दशैँघरमा विशेष पूजा

    परम्परानुसार काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा देवीको पूजाराधना शुरु हुन्छ ।

    शनिबार बिहान चित्रा नक्षत्रको पूजा एवं हवन गरी समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले बताए ।

    दशैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाराधना गरिन्छ । यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा दिइने ५४ बोका र ५४ राँगासहितको बलि भने कोरोनाका कारण स्थगत गरिएको उनले सुनाए ।

    रोजगारी, अध्ययन एवं अन्य कामविशेषले आफ्नो घर बाहिर रहेका मानिसहरु दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।

    धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् । यस वर्ष भने कोरोनाका कारण लामो समय शिक्षण संस्था बन्द रहेकाले केही दिन अनलाइन कक्षा जारी रहने जनाइएको छ ।

    कोरोनाको सात महिना पूरा भइसक्दा पनि धेरैजसो शैक्षिक संस्थाले अनलाइनबाटै कक्षा चलाइरहेका छन् । केही शैक्षिक संस्था मात्र खुलेका छन् । दशैँका मुख्यदिन मात्र अनलाइन कक्षा चलाएर बाँकी दिन अध्यापन गराउने धेरैजसो स्थानीय तहको तयारी छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा
    खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला
    एमालेभन्दा एक लाख ५० हजार मत बढी ल्यायाैँ : उपसभापति खड्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.