मेरो बा
हरेक दिन एकाबिहानै,
मेरो बा मेरो पछिपछि,
लठ्ठी टेकेर मसँगै रङ्गशाला आउँछन् ।
प्यारापिटको एउटा सिँढीमा बसेर,
म दौडिरहेको हेर्दै भन्छन्,
‘फास्ट अझैं फास्ट ।’
म दौडिएको देखेर मख्ख पर्दै,
घडीको टाइमसेट हेर्छन,
मेरो बा मसँगै रङ्शाला आउँछन् ।
म दौडिएको देखेर हर्षले चिच्याइरहँदा,
एकैछिन फुर्सद निकालेर आकाशतिर हेर्दैगर्दा,
सायद, केही सोच्छन्,
मुसुक्क हाँस्छन् ।
सायद, सोच्दा हुन्,
मक्काएको खर्सुङको धुरिबोर्लो
र चुहिने भएको खरको छानो फेर्न
कसरी बोङ्गाखानी, खुंखानी, नर्जाखानी र गुर्जाखानीको खानीहरुमा,
आफ्ना बाउबाजेले खनेका खानीका अवशेषहरु,
उनीहरुले टेकेर गोरेटो बनेका पाखाहरु,
पछाडि छोडेर,
अनि, आफूसँग खेल्दै गरेका साथीसङ्गी,
सोल्टीनीसँग सँगै सुसेली हालेका वनपाखा
चटक्कै छोडेर,
जुङ्गाको रेखी नबस्दै
र,
साहुको घरमा बाँरा बसेका दाईहरुलाई मुक्ति दिलाउन,
ओठको दुध नसुक्दै,
गाउँदै गरेको लालै, भाका, खेती, मयाली, यानीमाया र सालैजो
अनि,
नाच्दै गरेको पुत्पुराउ र मारुनीहरुलाई
फर्केर आई पुरा गर्ने बाचा गर्दै,
पल्टन छिरेका थिए ।
अथवा,
सायद याद गरे होलान्,
आफूले पहिलो छुट्टीमा भरियालाई बोकाएर ल्याएको पल्टने बाकस,
बाकसको कुनामा आफूसँगै आएको एउटा सानो साङ्ले किरा,
आफूले बोकेको सानो झोला,
झोलाभरी आफन्तलाई भनी बोकिल्याएको कोसेली,
अनि त्यहीँ झोलाको सानो खल्तीमा हाटबजारबाट किनी ल्याएको सानो ऐना ।
यो पनि सम्झें होलान्,
कोसेली बाँड्दै गर्दा बाकसको कुनाबाट फुट्ट बाहिरिएको साङ्ले किरा,
त्यसैकारण लाहुरेको कोसेलीमा आएको साङ्ले किराको,
नाम कसरी त्यहीँ दिनदेखि कोसेली बस्यो ।
हुनसक्छ यो पनि याद गरे होलान्,
आफूसँगै पहिलो छुट्टीमा ल्याएको सानो ऐना,
छुट्टी सकाएर पल्टन फिर्दै गर्दा ढोकाको छेवैमा टाँसेर,
आफ्नो अनुहार हेरेर शिरको टोपी मिलाएर
मुसुक्क मुस्काउँदै पातलो जुँगा मिलाउँदै
‘घरका र कुलदेवताले रक्षा गरुन’ भन्दै प्रार्थना गरेर निस्किएका थिए ।
तर,
धेरै वर्षपछि रिटायर्ड भएर आएपछि,
त्यहीँ ऐना अगाडि उभिँदा,
ऐनाले उनलाई बिर्सिसकेको थियो,
र बिर्साइसकेको थियो एउटा जोशिलो युवालाई ।
या फेरि,
सायद, यो पनि याद गरे होलान्,
आफूले भनेको हरेक कुरा सही ठान्ने,
अफिसरलाई टक्रयाएको पहिलो सलामी,
र अफिसरले दिएको पहिलो स्याबासी ।
यो पनि सम्झें होलान्,
आफ्नो २१ वर्षे करियरमा
युद्धमा जाँदा बोकेका,
गह्रुँगो तोप, बन्दुक र गोलीगठ्ठाहरु,
र, पाइला बढाउनै लाग्दा
बारुद गोलाले भत्काएको छेवैको घर ।
आकाश तिर हेर्दै गर्दा,
सायद, उनी सोचे होलान्,
कसरी उनको बन्दुकको नालबाट
निस्केको गोलीले दुश्मनको छाती चिर्यो,
जसले सायद,
उनको जस्तै सपना देख्ने हैसियत राख्थ्यो ।
सायद सम्झें होलान्,
पहिलो युद्ध जितेपछि आफ्नै काँधमा बोकेको,
सँगै परेड खेलेको नम्बरीको लाश ।
बाथले च्यापीसकेको घुँडामा,
हात लगाउँदै र बलजफ्ती आफूलाई
उठाउँदै,
निराश मुद्रामा मेरो बा
छेवैमा दौडीरहेको मलाई हेर्दै,
फेरि उहीँ पुरानो तवरले भन्छन्,
‘फास्ट अझै फास्ट ।’
…
धुरीबोर्लोः घरको छानोमा सबैभन्दा माथि राखिने लामो र बलियो काठ ।
बाँराः नोकर, ऋण चुक्ता गर्न नसकेपछि बन्धकमा बस्ने व्यक्ति ।
बोङ्गाखानी, खुंखानी, नर्जाखानी र गुर्जाखानीः ठाउँहरुको नाम ।
लालै, भाका, खेती, मयाली, यानीमाया र सालैजोः पुराना लोकभाकाका दोहोरी गीतहरु । जसमध्य धेरैजसो लोप भइसकेका छन् ।
पुत्पुराउ र मारुनीः पुराना साँस्कृतिक नृत्यहरु । जुन लगभग लोप भइसकेका छन् ।