पोखरा । कोरोना महामारीले सबैभन्दा बढी असर गरेको क्षेत्रमध्ये एक शिक्षा पनि हो । लाखौं बालबालिका विद्यालय जानबाट बञ्चित छन् । सरकारले विद्यालय खुलाउने मितिको टुंगो लगाउन सकेको छैन ।
विशेषतः सहरका बालबालिका यसको मारमा परेका छन् । अधिकांश अभिभावक आफ्ना बच्चा पढाउनकै निम्ति सहरमा डेरा लिएर बस्ने गर्थे । ती मध्ये धेरैजसोले सहर छाडेर आफ्नै थलो फर्किसकेका छन् ।
त्यस्तै अभिभावक र बालबालिकालाई उपयुक्त विकल्प र समाधान दिन गोरखाको एक विद्यालयले कोरोना महामारीलाई अवसरको रुपमा लियो ।
शहीद लखन गाउँपालिका ७ बुंकोटस्थित मकैपुर आधारभूत विद्यालय बन्द भएको लामोसयमपछि पुनर्जीवन पायो । सोही वडाका अध्यक्ष शरण श्रेष्ठ, स्थानीयको साथ र गाउँपालिकाले उपयुक्त समयमा लिएको सही निर्णयले विद्यालयको पुनर्जीवन सफल भयो ।
०७२ वैशाखको गोरखा महाभूकम्पले लडाएको विद्यालयको भवन उभिन त पायो तर, त्यसपछि विद्यार्थी पाएन । २ वर्षअघि स्थानीय गुञ्जबहादुर गुरुङको पहल र सरकारी बजेटमा बनेको भवन रित्तै भयो ।
भूकम्पअघि केही विद्यार्थी त थिए । तर भवन नै नरहेपछि तिनै विद्यार्थी अन्यत्र विद्यालयमा जान बाध्य भए । भवन बनेपछि भने उनै विद्यार्थी फर्काउन विद्यालयले कोरोना महामारी कुर्नुपर्यो ।
‘ढुंगामाटोले बनेको विद्यालयको भवन भूकम्पले लडाएपछि ध्वस्त नै भयो । त्यसबेला १५/२० विद्यार्थी थिए होलान् । ती विद्यार्थी पनि यहाँबाट तलपर्ने शहीद स्मृति माविमा गए,’ वडाध्यक्ष श्रेष्ठले पुराना दिन सम्झदैँ भने ।
गाउँपालिकामा जनप्रतिनिधि चुनिएर आएपछि मातहतका विद्यालयको स्थिती खोजी भयो । जनप्रतिनिधिसहितको टोलीले उक्त विद्यालयमा अनुगमन गर्दा विद्यार्थी फेरि हुँदा खोल्ने गरी ०७५ सालमा बन्द गर्ने टोलीले निर्णय गर्यो ।
उक्त विद्यालय २०३० सालमा स्थापना भएको हो । वडाध्यक्ष श्रेष्ठ सम्झिन्छन्, ‘त्यससमय ६ वटा शिक्षकको दरबन्दी थियो । हामीले थाहा पाउँदासम्म ३ सय, साढे ३ सय विद्यार्थी थिए ५ कक्षासम्म ।’

वडाध्यक्ष शरण श्रेष्ठ
मानिसहरु सुविधा खोज्ने क्रममा बोर्डिङमा पढाउन थाले । गोरखा बजार, चितवनसम्म पुगेको उनले बताए । त्यही नजिकै राम लक्ष्मण प्रावि पनि थियो । अहिले त्यो विद्यालय पनि त्यस्तै अवस्थाले बन्द भएको उनको भनाई छ ।
मकैपुर आधारभूत विद्यालय भएको ठाउँमा ५ वटा टोल छन् । चालु आव २०७७/०७८ कालागि योजना छनोट गर्न जनप्रतिनिधि त्यहाँ पुगे । ५ टोल विकास संस्था र स्थानीयले बरु अन्य शीर्षकको बजेट घटाएरै भएपनि विद्यालयलाई बजेट दिन माग गरे ।
व्यवस्थापन समिति पनि नभएको विद्यालयमा बजेट छुट्याउन विभिन्न कारणले समस्या त थियो नै तर, स्थानीयकै मागलाई शिरोपर गर्दै वडाध्यक्ष श्रेष्ठले ५ लाख बजेट प्रस्ताव गरे । उक्त प्रस्ताव गाउँपालिका सभाबाट पारित भयो ।
बजेट परेपछि स्थानीयको माग त पूरा भयो । तर, मुख्य कुरा विद्यार्थी खोइ ? वडाध्यक्ष श्रेष्ठले विद्यार्थी खोज्ने अभिभारा गाउँलेलाई नै दिए । ‘स्थानीयहरु यसरी लागे कि गोरखा बजारमा बोर्डिङमा पढ्ने विद्यार्थीलाई समेत गाउँमा ल्याउन सफल भए,’ वडाध्यक्ष श्रेष्ठले भने ।
गाउँलेसहितको सहयोगमा १७ जना विद्यार्थी जम्मा भए । शिक्षक उपलब्ध गराइदिन टोल विकासको सिफारिस लिएर वडाध्यक्ष आफैं गाउँपालिका केन्द्रसम्म धाए । १७ जनाले मात्र हुँदैन भनेपछि फेरि गाउँलेलाई विद्यार्थी जुटाउन आग्रह गरिरहे ।
अन्ततः २७ विद्यार्थी जम्मा भए । अहिले गाउँपालिकाले १ जना शिक्षक पठाएको छ । शिशुमा १०, कक्षा १ मा १३ र कक्षा २ मा ४ जना विद्यार्थी भर्ना भएका छन् ।
विद्यार्थी अभियान सञ्चालन गरेर धेरै विद्यार्थीलाई आकर्षित गर्ने गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति दशैँ पछि गठन गरेर थप व्यवस्थित गर्ने प्रक्रियामा रहेको उनले सुनाए ।
‘पहिले विद्यार्थी नै नभएर बन्द भएको विद्यालय अहिले गाउँपालिकाकै पहलमा खुल्न लागेको हो । विद्यालय सञ्चालन अनुमति दिने निर्णय कार्यपालिकाको बैठकले केही दिनअघि मात्र गरिसकेको छ ।’

दाताहरुले विद्यालयलाई सहयाेग सामग्री दिँदै ।
विद्यालयलाई सहयोगको ओइरो
विद्यार्थी नि भए । पढाउने शिक्षक पनि छन् । तर रित्तो भवनमात्र । समस्या फेरि दोहोरिन सक्ने आंकलन वडाध्यक्ष श्रेष्ठले गरे । विद्यार्थी बस्ने बेञ्च, पढ्ने टेबल जुटाउन उनले योजना बनाए ।
सहयोगको याचना गर्न सकिने र सहजै जुटाउन सकिने उनका आफ्ना साथीभाई नै थिए ।
आफ्ना पुराना सहपाठी र गाउँलेहरुलाई उनले गुहारे । उनको लगनशीलता देखेर उनका साथीहरु उनीसँग प्रभावित थिए नै हौसला बढाउन पनि सहयोगी हातहरु उनीसम्म आइपुगे ।
स्थानीय अगुवा गुञ्जबहादुर गुरुङ र भीम गुरुङको पलहमा बेलायतमा बस्ने साथीहरुले रकम पठाए । सिंगापुर, हङकङ, कुवेत, आइसल्यान्ड, दक्षिण कोरियामा काम गरिरहेकाले सहयोग पठाए । काठमाडौंमा बस्ने साथीहरुले समेत सहयोग गरेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बजाज स्वरुमले विद्यार्थीका लागि ५० दर्जन कापी दिएको उनले सुनाए । महिला उद्यमीहरुले विद्यार्थीका लागि पोषाक उपलब्ध गराइदिने भएको छ । विद्यार्थीको नापो लिएर पोषाक सिलाइरहेको उनले बताए ।
लायन्स क्लब अफ आँबुखैरेनी सिटी, लियाे क्लब अफ आँबुखैरेनी सिटीलेसमेत सहयोग गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।
सहयोग विभिन्न व्यक्ति र संस्थाबाट निरन्तर आउने क्रम जारी रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
‘सबैतिरबाट सहयोग जुट्दै छ । सहयोगले काम गर्ने उत्साह बढाएको छ । गाउँको विद्यालय लामोसमयदेखि बन्द रहँदा हामीलाई नराम्रो लागिरहन्थ्यो । अब गाउँलेले आफ्ना नानाीबाबुलाई आँगनकै विद्यालयमा पढाउने वातावरण हामी बनाउँछौं,’ वडाध्यक्ष श्रेष्ठले भने ।