पोखरा । पृथ्वीचोक लगायतका व्यस्त ठाउँमा १ केजी स्याउको मूल्य कति पर्छ? यदि नियमित बजारबाट फलफूल किन्ने गर्नुभएको छ भने भन्नुहोला– चल्तीको रेट २ सय रुपैयाँ वा त्योभन्दा बढी ठाउँ हेरेर ।
तर तपाईंले किन्ने सोही गुणस्तरको स्याउ पोखरामै प्रतिकिलो १ सय ६० रुपैयाँमा पाइन्छ । त्यो पनि ताजा । किसानकै बारीबाट टिपेर सोझैं पोखरा । हामीले कुरा गरेको मुस्ताङी स्याउ हो । गोल्डेन र मार्फा प्रजातिको ।
कसरी प्रतिकिलोमै यति सस्तो कसरी पर्न गयो त ? तपाईंलाई पक्कै प्रश्न उठ्न सक्छ । हो, त्यही प्रश्नको जिज्ञासा मेटाउने छौं । यो स्टोरीमा ।
आजीवन कृषि सहकारी संस्था लिमिटेडले पोखरा १० अमरसिंहमा विक्री केन्द्र स्थापना गरेको छ । कोरोना महामारीकै बिच सुरु गरेको संस्थाले विक्री केन्द्र सेवामा अर्गानिक कृषि उत्पादनलाई मात्र प्राथमिकता दिइएको छ ।
सहकारीको उद्देश्य त्यतिमै सीमित छैन आफैंले चाउथेमा ५ रोपनी क्षेत्रफलमा लगाएको तरकारी बाली पनि विक्री गर्ने गर्छ ।
संस्थाले उक्त जमिन १० वर्षका लागि भाडामा लिएको छ । ३ ठूला टनेलमा टमाटर छन् । साग पनि लगाएको छ । यसैवर्ष ४ वटा टनेल टमाटरका थप्ने तयारीमा जुटेको छ सहकारी ।
त्यति मात्र नभई सहकारीले कुनैपनि उपभोक्ताले खरिद गर्ने तरकारी कुन ठाउँको र कुन बारीको थाहा पाउनुपर्ने मान्यता अघि सारेको छ । सहकारीले मुस्ताङबाट स्याउ, आलु, दाल, गाजर, लसुन ५ दिनअघि विक्री केन्द्रमा झार्यो ।
स्याउ ताङ्वेको, आलु मुक्तिनाथको, दाल बारा गाउँ अनि लसुन पनि मुक्तिनाथकै । यी सबै वस्तुको विक्री मूल्य उनीहरुले किसानसँगको खरिदमा जम्मा ८ देखि १० प्रतिशत मात्र जोडेर कायम गरेका छन् ।
‘त्यो पनि ढुवानीका क्रममा हुने नोक्सानी र विक्री केन्द्रको सामान्य अपरेटिङ खर्च धानोस् भनेर मात्र हो,’ कोषाध्यक्ष निश्चल पोखरेलले भने, ‘विक्री नभएको केही मात्रा खेर पनि जान्छ नि ।’
सहकारीले मुस्ताङमा एक जनालाई संकलनकर्ताको रुपमा जिम्मेवारी दिएको छ । संकलनकर्ताले विभिन्न गाउँबाट थोरैथोरै भएपनि उत्पादित वस्तुको संकलन गर्छन् । उनैले पोखरा पठाउँछन् ।
५ दिनअघि मुस्ताङबाट आएको सामान दोस्रो लटको हो । पहिलो लटको छोटो समयमै सकियो । दोस्रो लटमा सय कार्टुन स्याउ, ६० बोरा आलु, २ बोरा कालो र रातो दाल, ४ बोरा लसुन ल्याइएको सहकारीकी सहसचिव सवि गौचन शेरचनले जानकारी दिइन् ।
केन्द्रले स्याउ १ सय ६०, आलु ९०, गाजर ९०, दाल ३ सय २० र लसुन ३ सय २० प्रतिकिलो रुपैयाँमा बेच्ने गरेको छ । सहकारीकाे विक्री दर बजार मूल्यभन्दा कम भएकाे सहकारीकाे दाबी छ । बजारसँग प्रतिस्पर्धा नभएकाले सहकारीले मूल्य दाँज्ने नगरेकाे पदाधिकारी बताउँछन् ।

अमरसिंहस्थित सहकारीकाे विक्री केन्द्रमा राखिएकाे मुस्ताङी स्याउ । मार्फा र गाेल्डेन प्रजाति । तस्बिर: मेन समाचार
मुस्ताङका किसानले तोकेकै मूल्यमा उनीहरुको उत्पादन बारीबाट उठाउने गरेको ओम विकास तथा देउकुमारी स्मृती प्रतिष्ठान मुस्ताङकी अध्यक्षसमेत रहेकी सहकारीकी सहसचिव शेरचनले बताइन् ।
‘सहकारीको पैसाले किसानसँग उत्पादित सामान किनिन्छ । सामान ढुवानी गरेर सोझै पोखरा ल्याइन्छ,’ उनले भनिन्, ‘ढुवानीको लागत पनि हामी स्वयं ब्यहोर्छौ । किसानले आफ्नो वस्तुको पूरा मूल्य पाउँछन् ।’
मुस्ताङको बन्दा र साग पनि सहकारीले विक्री केन्द्रमा ल्याउने तयारी गरेको छ । ‘कुनै गाउँमा अचम्मै तरकारी फलिरहेको हुन्छ । तर लगेर बेच्ने ठाउँ नहुँदा किसानको श्रम त्यतिकै खेर गइरहेको अवस्था पनि छ,’ सहसचिव शेरचनले भनिन् ।
विशेषगरी बजारमा तरकारीमा बिचौलियाको हाबी चरम छ । लागत मूल्य भन्दा दोब्बर, तेब्बर नाफा राखेर बेच्ने तरकारी किन्न उपभोक्ता बाध्य छन् ।
केहीसमय अघिसम्म पनि पोखरामा मुस्ताङकै स्याउ भनेर पोखरेलीलाई भारत हिमाञ्चलको स्याउ व्यापारीले बेचेको सहकारीका पोखरेलले बताए ।
‘हाम्रै गाडी मुस्ताङमा लोड भएर बसेको छ । तर, सडक नखुल्दा सामान आउन पाएन । बजारमा मुस्ताङकै स्याउ भनेर अरुले बेचे,’ उनी भन्छन् । उपभोक्ताले पनि मूल्य तिरेपछि त्यसबारे पर्याप्त जानकारी लिएर मात्र लिन उनको आग्रह छ ।

अमरसिंहस्थित सहकारीकाे विक्री केन्द्रमा राखिएकाे मुस्ताङकाे गाजर । तस्बिर: मेन समाचार ।
सहकारीको कार्य प्रयोजन नै कृषि । त्यसैले कृषिमा आफ्ना सेयर धनी, सदस्य र टोलबासीलाई अर्गानिक कृषिजन्य सामग्री उपलब्ध गराउने लक्ष्य सहकारीले सुरुमै लियो ।
स्थानीय हितमान गुरुङको अध्यक्षतामा ०७६ मा सहकारी महानगरमा दर्ता छ । गुरुङ बेलायती लाहुरेमा मेजरबाट रिटायर्ड हुन् । सहकारी विभिन्न पेशाकर्मीहरुको संगोल बनेको छ ।
तर, उनीहरुको साझा लक्ष्य भनेको कम्तीमा दैनिक भान्सामा प्रयोग हुने तरकारीमा भएपनि आत्मनिर्भर हुनु नै हो ।
सहकारीका कोषाध्यक्ष निश्चल पोखरेलका अनुसार संस्थाले आफ्ना शेयरधनी र सदस्यलाई कौसी खेती तालिम दिएको थियो ।
‘गमलामा फूल मात्र फुलाइरहनु भन्दा केही उत्पादनमूलक पनि होस् भन्ने सोच्यौं । हामीले कौसी खेती तालिम लियौं,’ उनी भन्छन्, ‘अचम्म नमान्नुहोला, मैले लकडाउनमा २ महिना १ रुपैयाँको तरकारी पनि किन्नु परेन ।’ १ प्रतिशत मात्र भएपनि खरिदलाई निरुत्साहित गर्ने संस्थाको टार्गेट मिट भएको उनी सुनाउँछन् ।

अमरसिंहस्थित सहकारीकाे विक्री केन्द्रमा राखिएकाे मुस्ताङकाे आलु । तस्बिर: मेन समाचार ।
विक्री केन्द्रमा अब मनाङको उत्पादनलाई पनि जोड्ने तयारी भइरहेको उनले बताए । त्यस्तै, कास्की सार्दीखोलाको कागती, सुन्तला, एभोकाँडो लगायतका उत्पादन खरिदका लागि किसानसँग समन्वय भइरहेको सहसचिव शेरचनले जानकारी दिइन् ।
सहकारीले सुरु गरेको विक्री केन्द्रबाट उपभोक्ता सन्तुष्ट बनेको अनुभव मिलेको कोषाध्यक्ष निश्चल पोखरेलको भनाई छ । विक्री केन्द्रलाई दीर्घकालीन रुपमा सञ्चालनको लागि भने सम्बन्धित सरकारी निकायले पनि प्रोत्साहनमूलक नीति ल्याउनुपर्ने उनको मत छ ।
‘बिचौलिया प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्पादनको उचित मूल्य किसानले पाउने र उपभोक्ताले स्वस्थ्य वस्तु खरिद गर्न पाउनुपर्ने मान्यता राख्छौं,’ उनले भने, ‘अब सरकारले पनि हाम्रो केन्द्रमा विक्री नभएर फालिनुपर्ने कृषिजन्य सामग्रीको मूल्यांकन गरेर जोखिम बापतको हिस्सा अनुदानमा दिलाओस् भन्ने हो ।’