पोखरा । कास्कीको रुपा गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी १ सय ६ जना सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
नेकपा गण्डकी प्रदेश सहइन्चार्जसमेत रहेका पूर्व मन्त्री तथा कास्की क्षेत्र १ का संघीय सांसद खगराज अधिकारीले नवआगन्तुकलाई पार्टी प्रवेश गराए ।
पार्टी प्रवेश गर्नेहरु यसअघि नेपाली कांग्रेसमा आबद्ध तथा मतदाता रहेको नेकपा रुपा गाउँ कमिटी अध्यक्ष सवाबक्स मियाँले जानकारी दिए ।
रुपा ४ माउडाँडामा पूर्व प्रध्यानाध्यापक राजेन्द्र रेग्मीको अगुवाइमा ५२ जना नेकपा प्रवेश गरेको गाउँ कमिटी रुपाले जनाएको छ । रेग्मी साविक सिद्ध गाविसमा नेपाली कांग्रेसको सचिव थिए ।
उनीसहित टोल विकास समिति अध्यक्ष शिव सिंह, आमा समूह अध्यक्ष पवित्रा शाही, क्लबका अध्यक्ष राजु शाही, युवा अगुवा राजवीर सिंह लगायत प्रवेश गरेको नेकपा गाउँ कमिटीका अध्यक्ष मियाँले जानकारी दिए । राजवीर कांग्रेसबाट वडासदस्यका उम्मेदवार थिए ।
रुपा ५ देउरालीमा भरतकुमार श्रेष्ठ, प्रेमकुमार जोशी, किरण, सुन्दर सन्त कुमार लगायत ३३ जना नेकपा प्रवेश गरेको गाउँ कमिटीले जनाएको छ । रुपा २ थुम्कीमा लालबहादुर गुरुङ, अमित, सुन्दर सन्तोष, नवराज गुरुङ, यज्ञबहादुर थापा, रामशरण लगायत २१ जना प्रवेश गरेको अध्यक्ष मियाँले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा सांसद खगराज अधिकारीले पहिले र अहिलेको विकासको गतिलाई मूल्यांकन गरेर पार्टी प्रवेश गर्न आग्रह गरे ।
‘पहिले र अहिलेको विकास तुलना गर्नुहोला । पहिले भन्दा कम भएको छ भन्ने लाग्छ भने प्रवेश नगर्न पनि सक्नुहुन्छ,’ उनले भने ।
गाउँपालिकामा विकासको प्रवाहमा आमूल परिवर्तन आएको र आगामी विकासको गति नेकपाले मात्रै दिन सक्ने भन्दै नेकपा प्रवेश गरेका नवप्रवेशी भरत श्रेष्ठले बताए ।
कृष्ण शाहीले आफूहरु कुनै स्वार्थ बिना नै पार्टी प्रवेश गरेको बताए । ‘कुनै स्वार्थ बिना पार्टी प्रवेश गरेको हुँ । विकासको यही गतिलाई समानरुपले अगाडि बढाउँदै लैजानुस्,’ उनले भने ।
रुपाको वडा २, ४, ५ मा पार्टी प्रवेश अहिलेसम्मकै ऐतिहासिक रहेको र नेकपा नेतृत्वको गाउँपालिकामा अझै विकासको फड्को मार्दै जानेक्रममा प्रवेश गर्नेको संख्या बढ्ने नेकपा वडा ५ अध्यक्ष तिलक क्षेत्रीले बताए ।
रुपालाई समृद्ध बनाउने अभियानमा अघि बढ्न नवआगन्तुकहरुले हौसला बढाएको नेकपा गाउँ कमिटी अध्यक्ष मियाँले बताए ।