पोखरा । सरकारले आइतबारदेखि संक्रमितले अस्पतालमा उपचार गर्दाको खर्च स्वयं भोर्नुपर्ने व्यवस्था लागु गरेसँगै मातहतका अस्पतालले समेत सूचना जारी गरेका छन् ।
संघीय सरकार मातहतकै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे कात्तिक ४ मा जारी सूचनामा संक्रमितलाई उपचारकाे खर्च ब्यहाेर्न भनिएकाे छ ।
अस्पतालले उपचाररत संक्रमितलाई खाना/खाना स्वयं व्यवस्थापन गर्न असमर्थ भए अस्पतालको क्यान्टिनमा नगद धरौटी राख्न भनेको छ ।
‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोरोना संक्रमण भई उपचाररत व्यक्तिहरु (सरकारले तोकेको लक्षित वर्ग बाहेक)ले मिति २०७७ कात्तिक ४ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च विरामी स्वयं ब्यहोर्नुपर्ने जानकारी गराइन्छ,’ अस्पतालका निर्देशक प्राडा अर्जुन आचार्यद्वारा जारी सूचनामा भनिएको छ ।
संक्रमितको उपचारमा सरकारले हात झिकेसँगै सर्वत्र विरोध भइरहेको छ । सोही सन्दर्भमा गण्डकी प्रदेश सरकारले संक्रमितको निशुल्क उपचार गराउने बुधबार मात्र घोषणा गरेको छ ।
तर, प्रदेशकै सबैभन्दा ठूलो अस्पतालले संघीय निर्देशन बमोजिम नै उपचार खर्च नब्यहोर्ने सूचना जारी गरिरहँदा नागरिकमाथि आर्थिक भार थोपरिने भएको छ ।