पोखरा । हिमालपारीका जिल्लाबाट च्याङ्ग्राका हुल पोखरा झरिसकेका छन् । घटस्थापना लागेसँगै पोखरेलीको भान्सामा पनि च्याङ्ग्रा मगमगाएकाे छ ।
दशैँ लक्षित गरेर मुस्ताङमा पालिएका च्याङ्ग्राले पोखरामा यतिबेला हाट लगाइरहेका छन् । पोखरा १ सिम्पानी, जौबारी, याम्दीदेखि हेमजासम्म व्यवसायीले च्याङ्ग्रा विक्री गरेको देखिन्छ ।
पोहोरभन्दा यसपाली केही मूल्य बढेर आएका छन् च्याङ्ग्रा । तैपनि बिहीबार च्याङ्ग्रा हाटमा पुग्दा उपभोक्ताकाे भिड देखिन्थ्यो । किनबेच पनि उत्तिकै भइरहेको छ ।
१९ वर्षदेखि निरन्तर पोखरामा च्याङ्ग्रा व्यवसाय गर्दै आइरहेका म्याग्दी रघुगंगा गाउँपालिकाका होमबहादुर पुनले पोहोरभन्दा यसपाली खरिद नै महँगो परेको बताए । ‘पोहोर २६/२७ हजारमा बेचिन्थ्यो च्याङ्ग्रा,’ उनले भने, ‘पाेहाेरभन्दा अहिले हामीलाई खरिदमै ६/७ हजार बढी पर्यो जाेमसाेममा।’
खरिद महँगो परेकाले पोखरा ल्याइपुर्याएर बेच्दा ३२/३३ हजार रुपैयाँ मूल्य तोक्नु परेको उनले बताए । महँगिएपनि कारोबारमा खासै फरक नपरेको उनी बताउँछन् ।
हिमालपारी जडिबुटी खाएर हुर्किएकाले स्वास्थ्यका लागि राम्रो हुने विश्वाससहित च्याङ्ग्रा किन्न आएको उपभोक्ता मनि अधिकारीले बताए । घरमा खसीबोका भएपनि च्याङ्ग्राकै मासु दशैँमा विशेष हुने उनको भनाई छ ।
असोज २६ गते जोमसोमबाट च्याङ्ग्रा हिँडाएर ११ दिनमा पोखरा ल्याइपुर्याएको व्यवसायी पुनले जानकारी दिए । ५ जनाको टोली मिलेर उनीहरुले यसपाला ७ सय ९९ वटा च्याङ्ग्रा पोखरा झारेका हुन् ।
बिहीबार दिउँसो ३ बजेसम्म ४ सय ८ वटा च्याङ्ग्रा बेचिसकेको उनी बताउँछन् । पोहोर ३ सय ७५ वटा च्याङ्ग्रा विक्रीका लागि ल्याएकाे पुनले बताए ।
एकै ठाउँमा बेच्न राखिएका च्याङ्ग्राको मूल्य पनि व्यवसायी अनुसार फरक देखिएको छ । मुस्ताङबाटै झरेका च्याङ्ग्रा अन्य केही व्यवसायीले भने ४० हजारसम्म मूल्य तोकेका छन् । एकैठाउँबाट ल्याइएका भएपनि च्याङ्ग्राअनुसार मूल्य फरकफरक पर्ने व्यवसायीको भनाई छ । धेरै मासु पर्ने च्याङ्ग्राको मूल्य केही उच्च कायम गरेका छन् ।
हेरौं, पोखरा सिम्पानी, जौबारीमा लागेको च्याङ्ग्रा हाटका तस्बिरहरु ।