पोखरा । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपालमा हुर्किएका च्याङ्ग्रा पोखरा आइपुगेका छन् ।
च्याङ्ग्रा व्यवसायी गोर्ख बुढाले ५ दिनमा पोखरा च्याङ्ग्रा ल्याइपुर्याएको बताए । पोखराको सिम्पानी, जौबारीमा उनीहरुले च्याङ्ग्रा विक्रीका लागि राखेका छन् ।
व्यवसायी बुढाका अनुसार यसपटक उनीहरुले न्यून मात्रामा च्याङ्ग्रा पोखरा भित्र्याए । ‘यसपटक १ सय १० च्याङ्ग्रा ल्याएका छौं,’ उनले भने, ‘पोहोर १ हजार च्याङ्ग्रा पोखरामा बेचेका थियौं ।’
कोरोना महामारीका कारण चिनबाट च्याङ्ग्रा आयातमा प्रतिवन्ध लगाएपछि स्थानीय व्यापारीले बझाङका विभिन्न गाउँबाट संकलन सम्भव भएका च्याङ्ग्रा मात्र पोखरा ल्याएका हुन् ।
स्थानीय उत्पादन मात्रै विक्री हुने भएकाले किसानले पनि मूल्य बढाएका छन् । व्यवसायी बुढाले खरिदमै यसपटक च्याङ्ग्राको मूल्य बढेको बताउँछन् ।
‘हामीले विक्रीका लागि राखेको च्याङ्ग्रा ३० देखि ४५ हजारसम्मका छन्,’ उनले भने, ‘पोहोरभन्दा अहिले हामीलाई खरिदमै केही मँहगो पर्न गयो ।’
गाउँमा १ महिना लगाएर उक्त च्याङ्ग्रा संकलन गरेको उनले सुनाए । गाडीमार्फत नै पोखरा ढुवानी भएको हो । पोखरा ल्याएको २ दिनमा ३० वटा च्याङ्ग्रा बेचिसकेको उनले बताए । बाँकी च्याङ्ग्रा दशैँसम्म बेचिसक्ने उनको विश्वास छ ।