सन् १८८५ मा रणोदीपको हत्या भएपछि जंगबहादुरका भाइहरुले ब्रिटिस दूतावासमा शरण लिए ।
बद्रीनरसिंहहरुलाई भारतको इलाहावाद पठाइयो । उनका छोराहरु इलाहावादमै फुटबल, क्रिकेट खेल्न थाले स्कुलमा ।
पछि बद्रीनरसिंहलाई नेपाल फिर्ता बोलाइयो । उनीहरु ठमेल नरसिंह चोकमा बस्न थाले । उनीहरु नेपाल आउँदा सँगै सन् १९२० ताका फुटबल पनि ल्याए ।

नरशमशेर जबरा ।
यसरी सरसर्ती हेर्दा मात्र पनि नेपाली फुटबलको विकासमा नरशमशेरको ठूलो हात छ । उनैले जनस्तरसम्म फुटबललाई पुर्याउने कार्यमा योगदान गरे ।
त्यससमय फुटबल खेल्ने मैदानहरु राणाको दरबारतिर मात्र हुन्थ्यो । सिंहदरबार, बबरमहल, बागदरबारमा जम्मा भई फुटबल खेल्थे ।
फुटबलको क्रमिक विकासको रुपमा २०११ सालमा नेपालको पहिलोपटक राष्ट्रिय टिमको गठन भयो । राष्ट्रिय टिम युद्धविक्रम शाहको नेतृत्वमा कलकत्ता खेल्न गएको थियो । त्यस टिममा सदस्य राजबहादुर सिंह पनि थिए । त्यससमय फुटबल निकै लोकप्रिय थियो । बच्चादेखि युवाहरु फुटबलप्रति आर्कषित थिए । दर्शक पनि उत्तिकै भरमार ।

युद्धविक्रम शाह ।
नेपालमा पहिलोपटक विसं १९९८ मा पाटनको टुँडिखेलमा राम जानकी कप लिगको सुरुवात भएको थियो । जसमा आठ वटा क्लबहरुले भाग लिएका थिए । तर उक्त लिग पूरा हुन भने सकेन । नरशमशेरले नेतृत्व गेरेको टिम जावलाखेल र ठमेल ११ बिच खेल समयमै झगडा भयो ।
सोही कारणले गर्दा लिग नै रोकिन पुग्यो । नरशमशेर र ठमेलका रामनारायण सिंह बिच मैदानमै झगडा परेको थियो । मोहन शमशेरले राणाहरुले जनतासँग झगडा गर्नु हुँदैन भनी फुटबल खेलमा प्रतिवन्ध नै लगाइदिए ।
सन् १९६३ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल्न पूर्वी पाकिस्तानमा

राजबहादुर सिंह ।
को कप्तानीमा गयो । त्यसमा एक सदस्य आफताब उद्दिन पनि ।
आफताबका बुबा राणाकालमा फुटबल खेल्थे । नेपालमा सात/आठ वटा क्लबहरु बनिसकेका थिए । जावलाखेल, महावीर, एन.आर.टि, संकटा, ठमेल ११, विद्या व्यायाम क्लबहरु उदाएका थिए ।
नेपाली राष्ट्रिय टोलीमा विद्या व्यायामका ६ जना खेलाडी र विराटनगरका खेलाडीहरु मिलेर खेल्न गएको थिए । जम्मा एक हप्ताको अभ्यासमा टिमको तालमेल बिनानै प्रतिस्पर्धामा होमिएका थिए ।

विद्या व्यायाम टिम ।
टिम अभ्यासको कमीको कारण पहिलो दुई वटा खेलमा नेपाली टिमले नमिठो हार ब्यहोर्नु पर्यो । तेस्रो खेलमा नेपालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय जित निकालेको थियो । जसमा प्रकाश विक्रम शाहले एक गोल गरेका थिए । आफ्नो नाम पहिलो अन्तर्राष्ट्रिय गोलकर्ताको नाम लेखाउन सफल भएका थिए उनी ।
नेपालमा फुटबलको इतिहासबारे वृत्तचित्र बनाउने क्रममा विभिन्न फुटबल सम्बन्धित व्यक्तिहरुसँग अन्तरर्वार्ता लिने क्रममा मलाई के लाग्यो भने वृत्तचित्र त लामो हुन्छ । एकपटक टेलिभिजनमा प्रसारण भएपछि अर्कोपटक प्रसारणमा केही समय लाग्छ ।
त्यहीँ कारण छोटो मिठो खेलाडीको आत्मकथा बनाउन पायो भने एउटा इतिहास रहिरहन्थ्यो । समयसमयमा प्रसारण हुँदा सबैले हेर्नपनि पाउथे । सबै कुराको मनमनै योजना बनाएर मात्र हुँदैन भन्ने लाग्यो ।
कार्यक्रमको डमी बनाएर नेपाल टेलिभिजनका नायव महाप्रबन्धकलाई देखाए । उहाँले राम्रो लागेको प्रतिक्रिया दिँदै फुटबलको मात्र नभई अन्यको पनि बनाउन भन्नुभयो ।
यही क्रममा भीम थापाले भन्नुभयो ‘एउटा नेपाली राष्ट्रिय टिमबाट खेल्ने एक्लो मुसलमान खेलाडी हुनुहुन्छ उहाँको पनि लिनुस् म फोन नम्बर खोजेर तपाईंलाई दिन्छु ।’
केही दिनपछि श्याम चित्रकारले आफताब उद्दिनको फोन नम्बर दिनुभयो । सम्पर्क गरें । उहाँले फोनमै भन्नुभयो ‘आउनुहोस् म घरमा नै हुन्छु ।’
देशको एक्लो फुटबलमा प्रतिनिधित्व गर्ने व्यक्तिसँग भेट्न र उहाँका कुरा सुन्न पाउने भयौ । उत्सुक थियौं ।
आफताब उद्दिनको अन्तरर्वार्ता लिन म र पुनम सापकोटा उहाँले दिएको समयमा कुलेश्वरस्थित घरमा पुग्यौं ।

आफताब उद्दिन ।
उमेरले ७८ वर्ष टेकिसक्नुभएका उहाँको अहिले पनि शरीरमा उही पहिलाको जस्तै चमक देखिन्छ । जवानी कस्तो हुनुहुन्थ्यो होला? सोच्दै अचम्म लाग्यो ।
अहिले पनि शुक्रबार नमाज पढ्न घरदेखि घन्टाघर हिँडेर आवातजावत गर्नुहुन्छ ।
अन्तरर्वार्ताका लागि बैठक कोठामा सामान्य सेटिङ गरेपछि हामी कुराकानीमा मोडियौं ।
बुबाले राणाकालमा फुटबल खेलेको रमाइलो कुराबाट सुरु भयो । आफताबले स्कुल लेबलको देवीमाया शिल्ड पद्मोदयबाट खेल्न शुरु गर्नुभएको थियो ।
त्यो प्रतियोगितामा चार फिट १० इन्चसम्मका खेलाडीहरुले मात्र खेल्न पाउथे । तीन वर्ष लगातार त्यो प्रतियोगिता उहाँले खेल्नु भएको थियो । दुई वटामा जित पनि हाँसिल गर्नुभयो । स्कुलपछि कलेजमा पनि फुटबलले निरन्तरता पायो ।
विसं २०१९ सालतिर एउटा लिग र त्रिभुवन च्यालेन्ज शिल्ड मात्र प्रतियोगिता हुन्थ्यो । त्यससमय राम्रा क्लबहरुमा जापलाखेल, महावीर, एन.आर.टि, ठमेल र विद्या व्यायाम क्लबहरु थिए । आपताब उद्दिन विद्या व्यायामबाट खेल्नु हुन्थ्यो ।
क्लब चलाउन गाह्रो थियो । सुशिल शमशेरले विद्या व्यायामको संरक्षक भएकोले उहाँ आफैं क्लबको सम्पूर्ण खर्च गर्नुहुन्थ्यो । तर अरु क्लब सञ्चालन गर्न कठिनाइ थियो । आफताब उद्दिनका अनुसार विद्या व्यायाम टिम त्यससमय प्रसिद्ध क्लबको रुपमा चिनिथ्यो ।
हजारौं दर्शक खेल हेर्न आउथे ।
सन् १९६३ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल्न पूर्वी पाकिस्तान गयो । टिमको कप्तानी राजबहादुर सिंहले गरेका थिए । जसमा कोमल पाण्डे जस्ता राम्रा खेलाडी पनि थिए । उद्दिन रक्षक भूमिकामा थिए ।
नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै थियो । विपक्षी टिमहरु मोहम्डन स्पोर्टिङ क्लब, इस्ट बङान जस्ता टिम थिए । जसलाइ जित्न फलाम चिउरा चपाउनु सरह मानिन्थ्यो ।
नेपाली टिमले तीनवटा खेल खेलेकोमा पहिलो दुई वटा खेलमा नराम्ररी पराजित भएको थियो । पछिल्लो एउटा खेलमा जित हाँसिल गर्यो ।
आफताब राष्ट्रिय टिमबाट नेपालका विभिन्न ठाउँमा गएर खेल्नु भएको थियो । १९६३ मा आगाखा गोल्डकप पछि दुई/तीन वर्ष मात्र फुटबल खेल्नुभयो । त्यसपछि उहाँले फुटबल खेल्नै छोड्नुभयो ।
उहाँलाई मनपर्ने खेलाडी कोको थिए त ? उहाँलाई मनपर्ने एकसे एक खेलाडी थिए । जस्तै अमर थापा, धनबहादुर बस्नेत, प्रकाश विक्रम शाह, मोहन पाण्डे, राजबहादुर सिंह, पिडी सुब्बाहरु उहाँले लिने नाम हुन् ।

मोहन पाण्डे ।
नेपालको सय बर्षको फुटबल इतिहासमा मुस्लिम समुदायबाट फुटबलको राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने उहाँ एक्लो प्रतिनिधि हुनुहुन्छ । यो कुरामा उहाँलाई गर्व छ ।
खेलजीवनमा उहाँलाई सम्झन लायक घटना सुनाउँदा बंगलादेशमा भएको खेल निकै यादगार भएको बताउँनुहुन्छ । आगाखान गोल्डकपको पहिलो खेलमा मोहम्डन स्पोर्टिङका खेलाडी उमरको गोल बचाउने क्रममा बलमा हान्दा उमर तीन हात माथिबाट तल भुइँमा खसेका थिए ।
उठेर घुरेर हेरेपछि उनले आफताबलाई भनेछन्, ‘मस्लिम खेलाडी रहेछ ।’
उनले त्यसो भन्दै हात मिलाएको घटनाले उहाँलाई अहिलेपनि रोमाञ्चित बनाएको मैले महशुस गरें ।