पोखरा । पत्रकार तथा गायक छवि घर्तीमगर र गायिका हुमी पुन वलीको गीत ‘दशैँ आयो तिहारै आयो’ सार्वजनिक भएको छ । गीतको भिडिओ टुडे पोखरा डटकमको अफिसियल युट्युब च्यानल टुडे पोखरा मार्फत बिहीबार सार्वजनिक गरिएको हो ।
गीतमा छवि घर्तीमगर र हुमि पुन वलीको स्वर छ । लय र शब्द सुरेश गन्धर्वको रहेको छ । केशव बडुले एरेन्ज तथा विपिन खड्काले सम्पादन गरेका छन् । दीपक बस्नेत र शिषिर कँडेलको कोरियोग्राफर रहेको म्युजिक भिडिओको छायांकन नरसिंङ चौधरीले गरेका हुन् ।
उज्यालो अभियान मिडिया नेपालगञ्ज स्टुडियोमा गीतको रेकर्ड गरिएको हो । उज्यालो अभियान मिडिया प्रालिले म्युजिक भिडिओ निर्माण गरेकोे छ ।
‘झ्याउरे लयमा बनेको गीत राम्रो भएको विश्वास लिएको छु,’ गायक घर्तीमगरले भने, ‘यो भन्दा अगाडिका कौरा एवं झ्याउरे गीत स्रोता, दर्शकले रुचाएका कारण यो गीतलाई पनि मन पराइदिनुुहुनेछ भन्ने विश्वास छ ।’
चाडपर्वको समयमा प्रदेशी र घरदेशीको मर्मलाई म्युजिक भिडिओमा झल्काउन खोजिएको छ ।
गायक घर्तीमगरले निर्देशन गरेको म्युजिक भिडिओमा घर्तीमगर सहित कलाकार तिर्सना वली, सुरेश गन्धर्व लगायत अन्य कलाकारहरुको समेत अभिनय देख्न सकिन्छ ।