कास्की । पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ ।
यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गर्ने भएका हुन् ।
हालको पीच सडकलाई स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गरिने छ । सडक पाँच सेमी मोटाइको कालोपत्रे गरिएपछि सडक बलियो हुने र खाल्डाखुल्डी नपर्ने दावी महानगरको छ ।
सडकमा वर्षेनी खाल्डाखुल्डी परेर जीर्ण बनेको गुनासा आएपछि महानगरले कम्तिमा पनि पाँच वर्ष खाल्डाखुल्डी नहुने गरी अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु गरेको महानगर प्रमुख मानबहादुर जिसीले बताए।
उनले भने,“विज्ञको सिफारिसमा बढी चाप हुने सडकमा अस्फाल्ट विधिबाट पीच गर्न शुरु गरेका हौँ । लागत बढी पर्ने भएपनि टिकाउ हुने भएकाले यसलाई अनुशरण गरेका छौँ ।”
हाल न्यूरोड र रानीपौवा क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ । प्रमुख जिसीका अनुसार महानगरले १४ किमी तथा पूर्वाधार कार्यालय र डिभिजन सडकबाट ११ किमी हाराहारीमा सडक स्तरोन्नति गरिनेछ ।
पृथ्वीचोक, महेन्द्रपुल, केआइसिंह पुलहुँदै महेन्द्र गुफासम्मको सात किमी ४ सय मिटर सडकमा दुई किमी अस्फाल्टका लागि महानगरले ठेक्का लगाएकामा बाँकीमा सडक डिभिजनबाट ठेक्का व्यवस्थापन हुनेछ ।
त्यसैगरी जिरो किमी हल्लनचोक शहिदचोक हुदै मुस्ताङचोक सम्मको पाँच किमीमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ ।
महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि १७ करोड लागतमा ठेक्का सम्झौता गरिएको जनाएको छ । महानगरले गर्ने कामको जिम्मा जिम्मा इलाइट जेभीले पाएको छ ।
पृथ्वी चोक, राष्ट्र बैंक चोक, विरौटासम्म दुई किमी ५ सय मिटर सडकको पनि पूर्वाधार कार्यालयले काम गर्नेछ । अमरसिँह चोक रानीपौवाहुँदै महेन्द्रपुलसम्म दूई किमी ५ सय मिटरमा महानगरले ठेक्का लगाएको र काम शुरु गरिएको महानगरका वरिष्ठ इन्जिीनियर शारदामोहन काफ्लेले बताए।
बुद्धचोक वन क्याम्पससम्मको दुई किमीमा सडक डिभिजनले काम गर्नेछ । सभागृहचोक, न्युरोड, विपीचोकहुँदै महेन्द्रपुलसम्मको तीन किमी सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ ।

फाइल तस्बिर ।