काठमाडाैं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।
आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ८ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ । यसैगरी आज २ हजार ९८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ६४३ रहेको मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरका २९ गरी काठमाडौँ उपत्यकामा कूल ८४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १ लाख २१ हजार ८२४ रहेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।
योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ८८७ पुगेको छ । कोरोना सङ्क्रमित मध्ये हाल २९० जनाको आइसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उहाँले जानकारी दिए ।
यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेको मन्त्रालयले जनाएको छ ।
मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल २ हजार ८८९ जना रहेका छन् । अब हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने यसैगरी मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ ।
अबदेखि हप्ताको २ दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४ः३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्यांक अपलोड गरिने प्रवक्ता गौतमले जानकारी दिए ।