गीतसंगीतको प्रभाव समाजमा कति छ, भनेर बुझ्न व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा यसको समुचित प्रयोगले नै पुष्टि गर्छ । राणा, पञ्चायत र राजतन्त्र परिवर्तनमा कलाकारहरु पनि आन्दोलनको अग्र मोर्चामा रहे । सशस्त्र विद्रोहमासमेत संगीतको व्यापक प्रयोग भयो जनतालाई आफूतिर तान्न । त्यसैले पनि यस्तो गीतसंगीतको गलत प्रयोग गरिनु हुन्न भन्ने मत बलियो भएको हो ।
व्यवस्था आफैंमा राम्रो र नराम्रो नभएर त्यसलाई चलाउनेको मनसाय प्रमुख भएजस्तै पछिल्ला दिनमा गीतसंगीतप्रति पनि समान धारणा विकसित हुन थालेको छ । समयअनुसार मानिसका रूची बदलिएजस्तै गीतसंगीतको प्रस्तुति बदलिन सक्छ र पर्छ पनि । तर, यसको सार तत्व कुनै पनि बहानामा परिवर्तन हुनुहुँदैन । कसैको सनकी पारा र स्वतन्त्रता उपयोगले संगीतको मर्म मार्नु हुन्न र मर्दैन पनि ।
स्वतन्त्रता कहिल्यै निरपेक्ष हुँदैन । अझ, अभिव्यक्ति स्वतन्त्रता त सिमाहीन हुन सक्दैन भन्ने त नेपालको संविधानमा त्यसको प्रतिबन्धात्मक वाक्यांशमा सामाजिक र सार्वजनिक शिष्टाचारविरुद्ध र गाली बेइज्जती ठहर्ने कुराहरु गर्न नपाइने उल्लेख गरेबाट पुष्टि हुन्छ । अब आउँछ सामाजिक शिष्टाचार केलाई भन्ने ? शिष्टाचारलाई पनि एउटै डालोमा हालेर हेर्न मिल्दैन ।
समाजको बनोट र परिवेशअनुसार यो फरक हुन सक्छ । तर, मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार वा इशारालाई पनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर मानेको छ । कुनै पनि व्यक्ति वा संस्थाविरुद्धको मानहानी र गाली बेइज्जती पनि अपराध नै हो ।
अब प्रश्न उठ्छ के समीर घिसिङ अर्थात् भि–टेनले गीतमार्फत् पछिल्लोपटक व्यक्त गरेका भावनाले सामाजिक शिष्टाचार र प्रहरीको मान मर्दन गर्छ त ? सामाजिक प्लेटफर्म यू–ट्युबमा अपलोड गरिएको उनको र्याप समाजमा खलल उत्पन्न गर्ने खालको छ ? अथवा गीत राखेको केही समयपछि नै प्रहरीले उनलाई खोजी गर्न जरुरी थियो कि थिएन ?
यस्ता प्रश्नको दुई तुक जवाफ दिन सकिँदैन । गीत गाएकै आधारमा कसैलाई पक्राउ गर्नुलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्न पनि सकियो । सँगै समाजमा अश्लीलता र अभद्र व्यवहारलाई फैलाउने काममाथि नियन्त्रण जरुरी छ पनि भन्न सकिन्छ ।
संयोग के भने समीर गत वर्ष पनि प्रहरीको बर्दी दुरुपयोग गरेको तस्बिरका कारण पक्राउ परेका थिए । र, आगामी दिनमा त्यस्तो नगर्ने भन्दै माफी मागेपछि उनलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको थियो । घटनाको एक वर्ष नबित्दै तिनै समीरले फेरि प्रहरीको मानमर्दन हुने गरी अर्को गीत निकालेका हुन् ।
अघिल्लोपटक पक्राउ पर्दाका समय भन्दा अझ उग्र र अश्लील शब्द उनले आफ्नो गीतमा प्रयोग गरेका छन् । यसले उनी अभिव्यक्ति स्वतन्त्रताको सही उपयोग गर्न चाहन्छन् या प्रहरीलाई लक्षित गरेर गीत उत्पादन भन्ने प्रश्न पनि उठेको छ ।
सिर्जनशीलता भनेको कुनै पनि कुरालाई आलंकारिक वा विम्बात्मक तरिकाले प्रस्तुत गर्ने हो । सिर्जनात्मकता हुने भएकाले नै गीत संगीतलाई मौलिक र बौद्धिक सम्पति मानिएको हो । तर, सिर्जनात्मकताको खडेरी र सामाजिक मूल्य मान्यता अनि नैतिकताको उल्लंघनलाई मात्रै आफ्नो बहादुरी ठान्नेले विम्बको मतलब गर्दैन । कलाकार पनि समाजकै सदस्य भएकाले उसलाई सामाजिक नैतिकता विपरीत जाने अधिकार छैन । र हुनु हुँदैन ।
तर, यहाँ त गायक भन्दा पनि प्रहरीको नैतिकताको खडेरी परेकाले एकातिर सोझिन पर्ने प्रश्न अर्कोतिर सोझिन पुगेको छ । प्रहरी प्रशासनको नागरिक छवि धुमिल भएका समयमा यस्तो हुनु अस्वभाविक हैन ।
सत्ताको दबाबमा प्रहरी अनुसन्धान प्रभावित हुने समाचारहरु आइरहेकै बेला प्रहरीविरुद्ध गीतबाटै जाइलागेका समीर घिसिङप्रति नागरिक समर्थन देखिनु अस्वभाविक हैन । सत्ताबाट निर्देशन नआउँदासम्म मृतकका आफन्तको जाहेरीसमेत नलिने प्रहरीले समीरको गीतमाथि किन एक कदम अघि बढेर निर्णय गर्न परेको होला ? बुझ्न कठिन छ । आफ्नो छविमाथि अरुले धावा बोलेको भनेर खोजी गर्ने प्रहरीले बरु छवि सुधार्ने उपाय खोजी गर्दा उत्तम हुने थियो ।
गीत संगीतको माध्यमबाट अश्लीलता फैलाएको भन्ने आरोपमा दुर्गेश थापा पनि यसअघि पक्राउ परेका थिए । चलचित्रको व्यंग्यात्मक समीक्षा गरेकै आधारमा कमेडियन प्रनेश गौतम जेल गएको उदाहरण पनि छ । स्वयं सीमर पनि प्रहरीको हिरासतमा बसिसकेका हुन् । तर, हामी कहाँ के बोलियो भन्दा पनि कसरी बोलियो भन्नेमा बढी ध्यान दिइने गरिएको छ ।
सन्देश के दिइयो भन्दा पनि के शब्द प्रयोग गरियो भन्नेले महत्व पाउँछ । हाम्रो सामाजिक संरचनाका कारण पनि आम मानिस आफूलाई बोल्ने होइन हैन सुन्नेमा मात्रै सीमित गर्छन् । कतिसम्म भने के बोल्दा राम्रो वा नराम्रो भन्ने कुरा सामाजिक मूल्य र मान्यताका आधारमै परिभाषित छ ।
कुन विषय मर्यादित र महत्वपूर्ण अनि कुन अमर्यादित भन्ने दायरा राखी बोल्नुपर्दा व्यक्तिले ‘सेल्फ सेन्सरसिप’ गर्ने परिप्रेक्ष्यमा कुनै पनि सिर्जनाले त्यो छुट पाउने वा पाए कतिसम्म भन्नेबारे अब बहस गर्न जरुरी भइसकेको छ ।
किनभने तपाईंको बुवाको शिर भन्नु र तेरो बाउको टाउको भन्दा अर्थ एउटै भए पनि प्रभाव अनेक पर्न सक्छ । गीतसंगीत एक दिन र केही समयको लागि मात्र हैन । यो त भावी पुस्तालाई बाटो देखाउने सत्मार्ग पनि हो । कुबाटोमा हिँडाउने कि सुबाटोमा रोजाईमा विवेक प्रयोग गर्ने बेला आएको छ ।
(आचार्य रेडियो कान्तिपुरका न्यूज चिफ हुन् ।)