काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलाबारे विभिन्न अभिव्यक्ति सार्वजनिक भइरहँदा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको रक्षाका निम्ति पहल गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत, पसिना लगाएर हासिल गरिएको हो । यसको बिफलता र पार्टी फुट कदापी उचित र सही हुन सक्दैन,’ श्रेष्ठले भनेका छन्, ’फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकको चाहना र जनादेशविरूद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाउँबाट एकताको रक्षा निम्ति सक्रिय पहल गरौं । पार्टीको बैठक बसौं र सबै पक्षका बारेमा खुला छलफल गरौं ।’
उनले पार्टीमा व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने बताउँदै देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोच्न आग्रह गरेका छन् ।
‘व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन। देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलनलाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं,’ उनले भनेका छन्, ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिक्रियावादी शक्तिको चाहना पूरा गर्ने कार्य कसैबाट नओस् । सबैले समयमै सोचौं ।’