काठमाडौं । उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी एकताको बेला गरिएको सहमती विपरित खेल खेल्न खोज्दा विभाजन निम्तिन लागेको बताएका छन् ।
उनले सोमबार ट्विट गर्दै त्यस्तो दुर्भाग्य निम्त्याउनेहरुलाई सबैले बेलैमा चिन्न र खबरदारी गर्न आह्वान समेत गरेका छन् ।
एकताका बेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो, उनले भनेका छन्, त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं ।
केही दिनयता नेकपामा दुई अध्यक्षबिचको असन्तुलनले पार्टीमा विभिन्न संकट उत्पन्न भइरहेको छ । ओली र प्रचण्डबीचको संवादमा प्रचण्डले आफूसँग प्रधानमन्त्री पद मागेको र ओलीले पार्टी फुटाउन चाहेको धारणा सार्वजनिक भएका छन् ।
ओली र प्रचण्डका धारणा प्रत्यक्ष नभई अप्रत्यक्ष रुपमा विभिन्न निकट स्रोतबाट सार्वजनिक भइरहँदा सोही धरालतमा पार्टी विभाजनको सम्मुखमा पुगेको अनुमान लगाइएको छ ।
पार्टी एकता गम्भीर संकटमा पुगेकाले सबै कार्यकर्ताले जोगाउन पहल थाल्नपर्ने नेकपा महासचिव विष्णु पौडेलले आइतबार आग्रह गरेका थिए । त्यस्तै, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत पार्टी एकता जोगाउन अपिल गरेका छन् ।
एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं !!
— Ishwar Pokhrel (@IshwarPokhrel) November 2, 2020