हामीले पढे सुनेका पुराना किम्बदन्ती हुन् वा इतिहास सबै जसो सत्ताका लागि गरिएका संघर्ष मै आधारित छन् । यो छोटो भूमिका मैले मात्र प्रसंग उघार्न बाँधेको हुँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो सत्तारोहणसँगै नेकपामा ‘सत्ता–भोक’ रोगको संक्रमण सुरु भएको थियो । यो रोग आजको दिनसम्म आइपुग्दा महामारीको रूपमा तपाईं हाम्रो सामु विद्यमान छ । २०७४ मंसिर २१ पछि बामपन्थी गठबन्धन (एमाले–माओवादी)लाई नेपाली जनताले सरकार नढल्ने गरी पाँचै वर्ष सत्ता चलाउ भन्दै बहुमत बुझाए । सत्तामा पुग्नैका लागि मिठा चुनावी एजेन्डाहरू पस्केका केपी ओलीले जनतासामु बाँधिएका बाचा पूरा गर्न प्रधानमन्त्रीको जिम्मेवारी लिने कुरा स्वभाविक नै थियो ।
यो स्वभाविकतालाई पचाउन नसक्ने पूर्व एमाले भित्रका ओली इतरका महासयहरूलाई केही भन्ने कुरै देख्दिनँ । माधव कमरेड, झलनाथ कमरेड दुबै प्रम भइसके वामदेव कमरेडको सत्ता यात्रा पनि लामै छ । यी सबै नेताहरूको पालामा चुपचाप निर्णय शिरोपर गर्ने ओली अहिले प्रम हुँदा यति छट्पटी हुनु भनेको डाहा, इष्र्या, इगो र प्रतिशोध बाहेक अरू केही हुनसक्दैन ।
अर्कोतिर पूर्व माओवादी खेमाले कत्ति नरूचाइएका (पूर्व एमाले पक्षीय) स्थानीय तहका जनप्रतिनिधिहरू गठबन्धन अगावै निर्वाचित भइसकेका थिए । त्यस कारण स्थानीय तहमा नेकपाका ९०% जनप्रतिनिधि पूर्व एमाले पक्षीय हुनु स्वभाविक नै हो । प्रष्ट हिसाबले स्थानीय तहका प्रति डाहा गर्नुको कुनै तुक रहँदैन । गठबन्धनका बेला ६०/४० को भागबन्डामा सम्झौता गरेपछि संघ र प्रदेश (नेकपाको संसदीय दल भित्र) दुबै सदनमा ४०% हिस्सा हुनु पूर्व माओवादीका लागि अन्याय होइन ।
विभिन्न बहानामा मन्त्री, सांसद र अन्य नियुक्तिहरू भागबन्डा मै बाँडीचुँडी गरेका ताजा तस्बिरहरू हामी कार्यकर्ताहरूको आँखाले बिर्सिसकेका छैनन् । अझ बेला बखत गतिरोध अन्त्य भन्दै गम्लङ्ग अंगालो पनि नहालेका होइनन् । आखिर सारा घटनाका बाबजुद पनि १५/१५ दिनमा काम ज्वरो उठ्छ भने त्यसको उद्देश्य पक्कै ‘सत्ता–भोक’ बाहेक अरू हुन सक्दैन ।
मैले माथि खर्चिएका शब्दहरूले पार्टीको एउटा मात्र खेमामाथि प्रश्न गरे जस्तो देखिन्छ । तर मेरो प्रश्न नेकपा भित्रका सबै सत्ता भोकेहरूलाई हो । अल्लि ज्यादा इंगित कार्यकारी अध्यक्ष माथि नै गर्नुपर्ने सापेक्षिक परिस्थिति छ । कारण अध्यक्ष आफैंले भोकाहरूको छुट्टै समिकरण चलाइरहेका छन् । यदि यी सबै सम्भावित कारणका पछाडि ‘सत्ता–भोक’ थिएन भने पराजितहरूलाई किन राष्ट्रिय सभामा लगियो ? विधि, पद्धति भनेर निकै लामो बाजा बजाइसकेपछि अन्तिममा विधिलाई मन्त्री पदको कुर्सीमा लगेर किन बाँधियो ? यी लगायत यस्ता लोभीपापी हर्कतहरू धेरै पेस गर्न सकिन्छन् ।
यस्ता प्रकारका हर्कतहरूले कमरेडहरूलाई ‘सत्ता–भोक’ रोगको रोगी हुन् भन्ने प्रष्ट प्रस्याउँछ । यदि साँच्चै प्रधानमन्त्रीको तरिका सच्याउन खोजिएको हो भने ढुम्रो थापेर कुलो मार्नुको के अर्थ ? नेकपाका तमाम कार्यकर्ताहरू सरकारले लोकप्रिय काम गरेको हेर्न चाहन्छन् । शासनमा सुशासन र प्रशासनमा शून्य भ्रष्टाचार ब्यहोर्न चाहन्छन् । देशमा बदलिँदो मौसमसँगै आउने विपत्तिहरूमा कुशल व्यवस्थापन र अनेकन खालका महामारीहरूको उचित रोकथाममा सफल सरकार चाहन्छन् । तर यी र यस्ता बिषयहरू कहिल्यै बैठकका एजेन्डा बन्दैनन् ।
यसअर्थ सत्तामा भाग नपाएर ‘सत्ता–भोक’को अग्निले पार्टीको बिरासतलाई जलाउन खोजेको चाल आम कार्यकर्ताले पाइसके यसबाट उम्केर चोखिन खोज्नु भोलि आफ्नै निम्ति प्रत्युपादक बन्ने निश्चित छ । बरू ‘सत्ता–भोक’ मेट्ने अभिलाषा छोडेर स्वार्थरहीत ढंगले सरकारलाई सच्याउँदै धैर्यतापूर्वक अर्को चुनावको तयारी गर्नु नै देश, पार्टी, नेता, कार्यकर्ता सबैको हितमा हुन्छ ।
अन्यथा जनताको आशा, विश्वास र धैर्यता तोडिन्छ । नेपालको राजनैतिक परिवर्तनका इतिवृतान्तहरू केलाउँदा जब जनताहरूले धैर्यताको बाँध भत्काउछन् तब राणाहरू निर्वासित हुन्छन् । पञ्चायत ढल्छ र राजा कमजोर हुन्छन् । राजतन्त्र पनि ढल्छ र गणतन्त्र सुरू हुन्छ । पालैपालो दलहरू लाई सत्तामा चढाउँछन् पनि र धुलो चटाउँछन् पनि । उदाहरणलाई कांग्रेस, माओवादी र एमालेहरूको विगत फर्केर हेर्दा पुगिहाल्छ ।
नेताहरूलाई अलिकति ज्ञान त पक्कै होला । सूचना र प्रविधिको पहुँच लगभग नेपालका सबै जसो जिल्लामा पुगेको छ । आजकल कसले कहाँ के गर्दै छ, भन्ने सूचना मिनेट भरमै नागरिकको हातहातमा पुग्छ । तर अचम्म छ यी नेताहरूको हातमा भएका मोबाइलमा कि इन्टरनेट नचल्नु पर्छ कि देखेर बुझेर पनि नजरअन्दाज गरेको हुनुपर्छ । यति सारा आलोचना, गाली र सुझावहरू पाउँदा पाउँदै घैँटोमा घाम नलाग्नु अति हो ।
अन्ततः सत्ता चलाउने र पार्टी चलाउने दुबै अध्यक्षहरूले इगोको भावना त्यागेर नसच्चिने हो भने ‘सत्ता–भोक’को ज्वारभाटाले कम्युनिस्ट पार्टीलाई मसानघाट बनाउँछ । गल्तीका फोर्राहरू एक–अर्कालाई हान्न छाडौं, नैतिकताको तराजुमा सबै नेताहरू बराबर छन् । नेकपा बचाऔं ‘समृद्ध नेपालःसुखी नेपाली’ को नारालाई अलपत्र नपारौँ ।
लेखकबाट थप: