तिहार तिमी
सप्तरङ्गी बनेर त आयौ
दिदीभाई दाजुबैनीहरूको
गला सिँगार्ने फूल त फुलायौ
तर यहाँ
तिम्रो अनुपस्थितीमा
तिमी आउने
समयलाई कैद गरिएको छ
बन्द कोठाभित्र
तिम्रो आगमनलाई स्वागत गर्ने
भैलेनीहरू त्यहीँ कैदी समयभित्र
सुतेका छन्,
तिम्रा कथा भट्याउनेहरू
सास फूलेर घाँटी तान्दै खोक्दै छन्
हो तिहार साच्चै हो
सायद
तिमी आउँदै गर्दा
मादलेहरू बाटोमा कतै भेटेनौ
न देखेऊ ती नाच्ने नर्तकीहरूलाई
न सुन्यौ कतै आहुई चचहुई
जस्ता चित्कारहरू
पक्कै पनि खल्लो लाग्यो
तिमीलाई यो देश यो परिवेश
तिहार
तिमीले बुझ्नेछौ यो बाध्यता
र सम्झाउने छौ तिम्रा ती प्यारा
मखमली, सयपत्रीहरूलाई
यो बर्ष सुकेर झरे पनि
अर्को साल फूल्नु छ भन्ने कुरा
र फकाउने छौ तिम्रा ती इन्द्रेणी
सातबैनी रङ्गहरूलाई
यो सालका खाली निधारहरू
आगुमसाल रङ्गाउनु पर्छ भन्दै
तिहार
तिमी मझेरी मै आँउदा
पनि दैलो उघार्न सकिनँ
स्वीकार गर दैलो भित्रबाट
यो कोभिड कैदीको
न्यानो मायाले बाँधेको चिठी तिमीलाई ।
लेखकबाट थप: