काठमाडाैं । साहित्य लेखनमा सधैँ नयाँ प्रयोग गर्दै आइरहेका फिक्सन डिजाइनर कुमार नगरकोटीको नयाँ कथा सङ्ग्रह ‘कल्प-ग्रन्थ’को प्रिमियम संस्करण प्रकाशन हुने भएको छ । ६३ वटा विभिन्न बान्की र शैलीका कथा समेटिएको सो पुस्तक ७७७ पृष्ठको रहेको प्रकाशक बुक-हिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘पुस्तकमा कन्सेप्चुअल, ग्रे, पोस्टकार्ड, इन्स्टलेसन, स्कृन प्ले, ट्रान्स क्रियटेड, टाइपोग्राफिक लगायत कथाहरू रहेका छन् । नेपाली साहित्यमा नगरकोटीको यो किताब उच्चतम प्रयोग हो,’ बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले भने, ‘पश्चिमा मुलुकहरूमा विशेष लेखकहरूका किताब विशेष तरिकाले प्रकाशन हुन्छन्, हामीले पनि लेखनमा सधैँ प्रयोग गर्दै आइरहेका नगरकोटीको यो किताबलाई विशेष तरिकाले प्रकाशन गर्न लागेका हौँ ।’
‘एसिड फ्री’ कागजमा छापिने किताब हार्ड कभरमा बक्ससहित उपलब्ध हुनेछ । एउटा बुक(मार्क, केही विशेष पोस्टकार्ड र झोला किताबसहित प्रत्येक ग्राहकले हात पार्नेछन् । साथै, हरेक ग्राहकले नगरकोटीको अटोग्राफसहित किताब प्राप्त गर्नेछन् ।
आजदेखि प्रि(अर्डर खुल्ला गरिएको किताब खरिद गर्न आगामी फागुन १ गतेसम्म अगृम बुकिङ गर्न सकिनेछ । पुस्तकको मूल्य २,०२१ रुपैयाँ नेपाल इन्भेस्टमेन्ट बैंक, बुक–हिल पब्लिकेसन, पुल्चोक शाखाको खाता नं ००४०१०१०२५८३६४ वा इसेवा ९८५१०३२४८६ मा जम्मा गर्न सकिनेछ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो पुस्तक जति ग्राहकले प्रि-अर्डर गर्छन्, त्यति प्रति मात्र छापिनेछ । देश वा विदेशका कुनै पनि पुस्तक पसलमा यो पुस्तक उपलब्ध हुनेछैन । कुनै विक्रेताले बेच्न चाहेमा यो योजनामा सहभागी हुनुपर्नेछ । प्रि–बुकिङ गरेका ग्राहकका पुस्तक नेपालभित्र निःशुल्क र नेपालबाहिर ढुवानी शुल्कसहित डेलिभरी गरिनेछ ।
प्रि–बुकिङ गरेका ग्राहक पुस्तक विमोचन समारोहमा सहभागी हुन सक्नेछन् । पुन: मुद्रण र प्रकाशन नहुने यो पुस्तक आगामी चैत १४ गते शनिबार लोकार्पण गरिनेछ ।